Logo

८ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वीरगञ्ज भन्सारबाट उठ्ने राजश्वको निश्चित प्रतिशतको रकम वीरगञ्ज महानगरपालिलाई उपलब्ध गराउन माग गर्नुभएको छ । आज अर्थमन्त्रालयमा आयोजित अन्तर सरकारी वित्तिय हस्तान्तरणका लागि परामर्श तथा समन्वय कार्याक्रममा बोल्दै प्रमुख सिंहले अर्थमन्त्री प्रकाश शरण महतसँग यस्तो माग गर्नुभएको हो ।

नगरप्रमुख सिंहले वीरगञ्ज नाकाबाट उठ्ने भन्सार राजश्वको निश्चित प्रतिशत रकम वीरगञ्ज महानगरलाई उपलब्ध गराउन आग्रह गर्नुभएको छ । अर्थमन्त्री महतलाई वीरगञ्ज महानगरकाबारे जानकारी गराउँदै नगरप्रमुख सिंहले देशको कूल राजश्व सङ्कलनमा वीरगञ्जको योगदान आधाभन्दा बढी भएपनि केन्द्रिय सरकारबाट वीरगञ्ज सँधै उपेक्षामा पर्दै आएको उहाँको गुनासो छ ।

वीरगञ्ज भन्सार नाकाबाट सङ्कलन हुने राजश्व अन्य पालिका सरह बाँडफाँड हुने अवस्थाले वीरगञ्जलाई घाटा मात्रै भएको उहाँको भनाई छ । देशकै आर्थिक नगरी भनेर चिनिँदै आएको वीरगञ्ज महानगर सो अनुसारको पूर्वाधार र सेवा सुविधा पाउनमा वञ्चित रहेकाले वीरगञ्जको विकासमा जोड दिन उहाँले अनुरोध गर्नुभएको छ ।

साथै उहाँले संस्थागत घरवहाल कर आन्तरिक राजश्व कार्यालयले उठाउँने काम बन्द गर्नुपर्ने, मालपोत रजिष्ट्रेशन शुल्क मासिक रुपमा दाखिला गर्ने व्यवस्था मिलाउनुपर्ने, आन्तरिक आय ठेक्का व्यवस्थापनका लागि नमुना कानुन निर्माण गर्नुपर्ने माग पनि राख्नुभएको छ ।

वीरगञ्ज महानगरमा शिक्षक अभाव हुँदा पठनपाठनमा समस्या भइरहेको भन्दै शिक्षा मन्त्रालयले नै दिएको प्रतिवेदन अनुरुपको शिक्षक नियुक्तिको व्यवस्था मिलाउन पनि उहाँको आग्रह छ । ३ सय शिक्षक नियुक्तीको लागि बजेट व्यवस्थापन गर्न माग गर्दै उहाँले शिक्षक अभावकै कारण शैक्षिक गुणस्तर वृद्धिमा असर पुगेको गुनासो गर्नुभयो ।

त्यस्तै मेयर सिंहले वीरगञ्जको आर्थिक अवस्था चलायमान बनाउन देशकै मुख्य नाकाको रुपमा रहेको सीमा नाकालाई २४ सै घण्टा खुला राख्ने व्यवस्था मिलाउन समेत माग गर्नुभएको छ ।


सम्बन्धित समाचार