१७ चैत, काठमाडौँ । मध्यपूर्वी एसियामा जारी तनावका बीच दक्षिणी लेबननमा इजरायली सेना र हेजबुल्लाह लडाकुबीच भएको भिषण गोली हानाहानमा चार इजरायली सैनिकको मृत्यु भएको छ ।
इजरायल रक्षा बल (आईडीएफ) का अनुसार सोमबार साँझ दक्षिणी लेबननको पश्चिमी क्षेत्रमा सञ्चालित सैन्य अप्रेसनका क्रममा हेजबुल्लाहका बन्दुकधारीहरूसँग जम्काभेट हुँदा उक्त हताहती भएको हो । घटनामा अन्य दुई सैनिक घाइते भएका छन्, जसमध्ये एकको अवस्था गम्भीर रहेको जनाइएको छ ।
मृत्यु हुने चारै जना सैनिक इजरायली सेनाको नाहल ब्रिगेड अन्तर्गतको रिकोनिसेन्स युनिटमा कार्यरत थिए । आईडीएफले मारिएकामध्ये तीन जनाको सनाखत गर्दै तस्बिर सार्वजनिक गरेको छ । जसमा २२ वर्षीय क्याप्टेन नोआम माडमोनी, २१ वर्षीय स्टाफ सार्जेन्ट बेन कोहेन र २१ वर्षीय स्टाफ सार्जेन्ट म्याक्सिम एन्टिस रहेका छन् । चौथो सैनिकको पहिचान भने हालसम्म गोप्य राखिएको र छिट्टै सार्वजनिक गरिने सैन्य स्रोतले बताएको छ ।
स्थानीय समयअनुसार सोमबार साँझ ६ः३० बजे भएको उक्त भिडन्तमा हेजबुल्लाहका लडाकुहरूले इजरायली टोलीलाई लक्षित गरी मिसाइल प्रहारसमेत गरेका थिए । मिसाइल प्रहारबाट थप भौतिक क्षति भए पनि मानवीय क्षति भने गोली हानाहानकै क्रममा भएको टाइम्स अफ इजरायलले उल्लेख गरेको छ ।
लेबनन सीमामा पछिल्लो समय बढ्दो सैन्य टकरावले यो क्षेत्रमा युद्धको नयाँ मोर्चा खुल्ने र यसले क्षेत्रीय सुरक्षामा थप चुनौती थप्ने खतरा बढाएको छ ।

















