१७ चैत, वीरगञ्ज । मधेस प्रदेशकै प्रमुख सरकारी स्वास्थ्य संस्था नारायणी अस्पताल वीरगञ्जमा दरबन्दी भएर पनि लामो समयदेखि काठमाडौँका सुगम अस्पतालहरूमा काज मिलाएर बसेका ५ जना वरिष्ठ विशेषज्ञ चिकित्सकहरूलाई स्वास्थ्य मन्त्रालयले तत्काल दरबन्दीस्थलमै फर्कन निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले देशभरका सरकारी अस्पतालमा विशेषज्ञ जनशक्तिको अभाव टार्न चालेको यो कदमले वीरगञ्जको स्वास्थ्य सेवामा नयाँ सुधारको अपेक्षा गरिएको छ ।
लामो समयदेखि नारायणी अस्पतालमा विशेषज्ञ डाक्टरहरूको अभावका कारण सेवाग्राहीहरूले ठूलो सास्ती खेप्दै आएका थिए। अस्पतालमा दरबन्दी भएका डाक्टरहरू कि त काज मिलाएर काठमाडौँका ठूला अस्पतालमा बस्थे, कि त वीरगञ्जमै भएर पनि सरकारी ड्युटीभन्दा निजी क्लिनिक र अस्पतालमा बढी समय दिने गर्दथे।
यसले गर्दा ग्रामिण क्षेत्रबाट उपचारका लागि आउने गरिब र विपन्न सर्वसाधारणले विशेषज्ञ सेवा पाउनुको साटो निजी अस्पतालमा महँगो शुल्क तिर्न बाध्य हुनुपर्ने अवस्था थियो। मन्त्रालयको यो पछिल्लो निर्णयले अब सरकारी तलब खाएर निजीमा मात्रै रमाउने प्रवृत्तिमाथि लगाम लगाउने र सरकारी अस्पतालमै विशेषज्ञ सेवा सुनिश्चित गर्ने अपेक्षा आम नागरिकले गरेका छन ।
मन्त्रालयको निर्णयअनुसार काज खारेज गरी नारायणी अस्पताल पठाइएका चिकित्सकहरूमा वरिष्ठ कन्सलटेन्ट अर्थोपेडिक सर्जन डा. सुशील समदर्शी र वरिष्ठ कन्सलटेन्ट सर्जन डा. मुकेश पौडेल रहेका छन्, जो यसअघि काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा काजमा कार्यरत थिए।
त्यस्तै, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा काजमा रहेका वरिष्ठ कन्सलटेन्ट रेडियोलोजिष्ट डा. सन्तोषकुमार गुप्ता र वरिष्ठ कन्सलटेन्ट गाइनोकोलोजिष्ट डा. मिसन्ता शर्मालाई पनि वीरगञ्ज फिर्ता गरिएको छ। साथै, वीर अस्पतालमा काजमा रहेका वरिष्ठ कन्सलटेन्ट एनेस्थेसियोलोजिष्ट डा. सुयोग्य वाग्लेलाई पनि आफ्नै दरबन्दी भएको नारायणी अस्पतालमा हाजिर हुन भनिएको छ।
यी विशेषज्ञ डाक्टरहरूको उपस्थितिले नारायणी अस्पतालका विभिन्न विभागहरूमा थन्किएका उपकरणहरूको प्रयोग बढ्ने र जटिल प्रकारका शल्यक्रिया लगायतका सेवाहरू नियमित हुने विश्वास लिइएको छ।
मन्त्रालयले पहिलो चरणमा नारायणीसहित डडेलधुरा र सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताललाई प्राथमिकतामा राखेर चिकित्सक पठाएपछि वीरगञ्जवासीले यो कदमको खुलेर स्वागत गरेका छन्।
अब अस्पताल प्रशासनले यी चिकित्सकहरूको कार्यशैली र उपस्थितिको नियमित अनुगमन गर्न सके नारायणी अस्पतालको साख पुनः फर्कने र आम नागरिकले घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा पाउने निश्चित देखिन्छ।



















