Logo

८ वैशाख,सेढवा । लामो समयदेखि पानी नपरेका कारण पर्साका ग्रामीण भेगमा जमिनमुनि पानीको सतह घट्दै गएको छ । यस क्षेत्रका कतिपय पानीका मुहान सुकेका छन् भने कतिपय पानीको स्रोतमा समेत पानी कम भएको छ । विगत केही बर्षदेखि ग्रामीण बासिन्दाहरुले खानेपानीका लागि चाँपाकल जडान गर्ने समयमा स्तह पानी ( अटोमेटिक पानी ) आउने धाराहरु सुकेका छन् ।

यसका साथै पर्सा राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यालयका जंगलमा पनि पानीका मुहानहरु सुकेका छन् । गत कार्तिक मन्सिरमा गँहु छरेको समयदेखि हाल राम्रोसँग पानी नपरेकोले समस्या झेल्नु परेको किसानले गुनासो गरेका छन् । अहिले किसानले लगाएका चैते धानबाली, मकैबाली, सुर्ती तथा विभिन्न किसिमका तरकारीबालीलाई सिचाँई गर्दागर्दै हैरान भएको जिराभवानी गाउँपालिका वडा नं २ सेढवा निवासी आकाश यादवले बताउनुभयो ।

आफूले लगाएको चैते धानबालीमा हरेक तीन दिनमा बोरिंगबाट सिचाई गर्नुपरेको यादवको गुनासो छ । यता जंगलमा रहेको पानीका मुहान सुक्न थालेको र डढेलोकम कारण जंगली जनावरहरु समेत बस्ती प्रवेश गर्ने क्रम बढेको छ । जिराभवानी गाउँपालिका वडा नं १ शान्तिनगर निवासी रामशरण लामिच्छानेले दैनिक जसो जंगली जनावरहरु मानवबस्ती प्रबेश गरिरहेको बताउनुभयो । खेतमा त्यति बाली नभएकाले जनावरका कारण क्षति भने नहुने उहाँले जानकारी दिनुभयो ।

अहिले बाघ, चित्तल, निलगाई, घोडगदहा, भालू लगायतका जंगली जनावरहरु दिउँसै आउने गरेको लामिच्छानेले बताउनुभयो । सुनाखरी वन समितिका अध्यक्ष भिमबहादुर पाख्रिनका अनुसार निकुञ्जमा जंगली जनावर बढि भएको र डढेलोका कारण जनावरहरु सुरक्षित हुन बस्ती प्रबेश गर्ने गर्दछन् ।

यसका साथै जंगलमा पानी नभएको तथा डढेलोका कारण हरिया घाँस पातको अभावले आहारा र पानी खोज्न जनावरहरु बस्ती प्रबेश गर्ने गरेको पाख्रिनले बताउनुभयो । अब पानी परेपछि जनावर बस्ती प्रबेश नगर्ने पाख्रिनको भनाई छ ।

 


सम्बन्धित समाचार