Logo

९ वैशाख, वीरगञ्ज । पर्सा जिल्लाका न्यायधीश गोविन्द पोखरेलले मानवअधिकारको सवालमा सबै सरोकारवाला निकायहरु संवेदनशील हुनपर्ने बताउनु भएको छ । कानून सबैको लागि बराबर भएकोले कानून कार्यान्वयन गर्ने निकायहरुले मानवअधिकारको विषयमा अझ संवेदनशील हुनुपर्ने बताउनुभएको हो ।

नेपाल मानव अधिकार संगठन पर्साले आयोजना गरेको एकदिने प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै न्यायधीश पोखरेलले नेपालको कानूनमा भएको व्यावस्थाको प्रभावकारी कार्यान्वयनमा नागरिकले आफ्नो कर्तव्यलाई पनि भुल्न नहुने बताउनुभयो ।

मानव अधिकार संगठन पर्साका उपाध्यक्ष दिलिप बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बार एशोसिएसन पर्साका अध्यक्ष कमलमोहन पोखरेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

मानव अधिकार संगठन पर्साका सचिव शिवनाथ यादवले सहजीकरण गरेको तालिममा बरिष्ठ अभिवक्ता दिनेश त्रिपाठी र गोविन्द ढकालले प्रशिक्षण दिनुभएको छ । तालिममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वीरगन्ज कलेज र वीरगन्ज मेघा कलेजका विद्यार्थीहरु गरी ४० जनाको सहभागीता रहेको संस्थाका सचिव शिवनाथ यादवले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार