Logo

१९ चैत, काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापासहित आठ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा आज विशेष अदालतमा निर्णायक सुनुवाइ हुँदैछ ।

न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासमा यस मुद्दाको पेसी तोकिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर थापासहित उपमेयर लीलाकुमारी मोक्तान र पूर्वमन्त्री विजयकुमार विरुद्ध जनही ५६ करोड ७१ लाख रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

यस प्रकरणमा सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी माछापोखरी निर्माण गर्ने नाममा ठूलो परिमाणमा सरकारी रकम हिनामिना गरिएको अभियोग छ । आयोगको अनुसन्धान अनुसार बागमती नगरपालिकाको वडा नम्बर ४ र १२ मा पर्ने वन क्षेत्रमा ढुङ्गा, गिट्टी र बालुवा अवैध रूपमा उत्खनन गरी बनेका खाडललाई माछापोखरीको स्वरूप दिइएको थियो । सोही माछाविहीन पोखरीका लागि सङ्घ र प्रदेश सरकारबाट पटक(पटक करोडौँ अनुदान माग गरी भ्रष्टाचार गरिएको दाबी अख्तियारको छ ।

विशेषगरी मधेस प्रदेश सरकारका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमारले निर्माण सम्पन्न नभएको योजनाका लागि गैरकानुनी रूपमा ३० करोड रुपैयाँ अनुदान दिने सम्झौता (एमओयू) मा हस्ताक्षर गरेको आरोप छ । यस भ्रष्टाचार मुद्दामा विमलकुमार पोखरेल, सागर पौडेल, विश्वराज पोखरेल, निरञ्जन लामिछाने र गोकुल भुजेललाई पनि विपक्षी बनाइएको छ ।

वन ऐनको बर्खिलाप हुने गरी सार्वजनिक सम्पत्ति दोहन गरेको यस मुद्दाको फैसलालाई स्थानीय तहमा हुने प्राकृतिक स्रोतको दुरुपयोग रोक्ने सन्दर्भमा निकै महत्वका साथ हेरिएको छ ।


सम्बन्धित समाचार