Logo

१९ चैत, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पूर्वमन्त्री बलराम अधिकारी जोडिएको विवादास्पद घुसकाण्डको सुक्ष्म अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

बौद्ध तथा मेलम्ची घ्याङगुठीका चिनियाँ लामा भूपतीबज्र लामालाई नियुक्ति दिलाउन तत्कालीन मन्त्री अधिकारीले ५ करोड रुपैयाँ घुस लिएको गम्भीर आरोप लागेपछि मन्त्रालयले सचिवस्तरीय निर्णयमार्फत सहसचिव ध्रुव घिमिरेको नेतृत्वमा तीन सदस्यीय समिति बनाएको हो । समितिमा उपसचिव रोशनशंकर घिमिरे र कानुन अधिकृत ध्रुव भण्डारी सदस्य रहेका छन्, जसले यस प्रकरणको कानुनी र नैतिक पक्षको विस्तृत अध्ययन गर्नेछन् ।

यो विवाद तब सतहमा आयो जब वर्तमान भूमी व्यवस्थामन्त्री डा. कुमार इङ्नामले सार्वजनिक रूपमै पूर्वमन्त्रीलाई मोटो रकम बुझाएर लामाले पद हत्याएको दाबी गर्दै दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सोही क्रममा अनियमितता र पदीय आचरण विपरीत काम गरेको अभियोगमा गुठी संस्थानले चिनियाँ लामालाई पदमुक्त गरिसकेको छ । लामामाथि गुठी जग्गाको संरक्षण नगरेको र धार्मिक आस्थाको केन्द्रमा पूजा गर्न जाने भक्तजनहरूबाट समेत रकम असुल्ने गरेको उजुरी परेको थियो ।

निर्वाचन आचारसंहिताका कारण रोकिएको यो छानबिन प्रक्रियाले अब गति लिएसँगै पूर्वमन्त्री र लामाबीचको आर्थिक लेनदेनको वास्तविकता बाहिर आउने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार