२० चैत, काठमाडौं । प्रतिनिधि सभाको नेतृत्व चयन गर्ने प्रक्रियाले तीव्रता पाएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रभावशाली नेता डोलप्रसाद (डीपी) अर्यालले सभामुख पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी चैत २२ गते हुने निर्वाचनका लागि शुक्रबार संसद् सचिवालय पुगेर उनले औपचारिक रूपमा मनोनयन दर्ता गराएका हुन् । यसअघि बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले अर्याललाई सभामुखको उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए, जसलाई संसदीय दलले सर्वसम्मतिले पारित गर्दै चुनावी मैदानमा होम्ने निर्णय गरेको थियो ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ९ बाट प्रत्यक्ष निर्वाचित भएका अर्याल रास्वपाका उपसभापति समेत हुन् । निर्वाचनको परिणामले रास्वपालाई सदनको सबैभन्दा ठूलो र निर्णायक शक्तिको रूपमा उभ्याएपछि सभामुख पदमा अर्यालको उम्मेदवारीलाई निकै चासोका साथ हेरिएको छ । नयाँ राजनीतिक शक्तिले सदनको कमान्ड सम्हाल्ने तयारी गरिरहँदा यसलाई संसदीय अभ्यासमा ूनयाँ पुस्ताको उदयूका रूपमा व्याख्या गर्न थालिएको छ ।
मुलुकको राजनीतिमा आएको पछिल्लो फेरबदल र संसद्मा रास्वपाको बलियो उपस्थितिका कारण अर्यालको पक्षमा माहोल सकारात्मक देखिएको विश्लेषण भइरहेको छ । सभामुख चयनका लागि तय गरिएको चैत २२ गतेको कार्यतालिकाले अबको केही दिनमा नयाँ गठबन्धन र शक्ति सन्तुलनको वास्तविक चित्र स्पष्ट पार्नेछ ।
प्रत्यक्ष निर्वाचनबाट भारी मतसहित आएका अर्यालले सभामुखको रूपमा संसद्लाई कसरी अगाडि बढाउलान् भन्ने विषय अहिले राजनीतिक वृत्तमा चर्चाको केन्द्र बनेको छ ।

















