२० चैत,वीरगञ्ज । ट्राफिक प्रहरीले वीरगञ्जमा लागू पदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने चालकविरुद्ध चेकजाँच अभियान सुरु गरेको छ।
शुक्रबार बिहान वीरगन्ज महानगरपालिका–१४ स्थित गण्डक चोकमा गरिएको चेकजाँचका क्रममा ३ जना चालकले लागू पदार्थ सेवन गरेको फेला परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख युवराज कटुवालले जानकारी दिए।
उनका अनुसार सो स्थानमा ३४ जना सवारी चालकको लापसे परीक्षण गर्दा ३ जनामा लागू पदार्थ सेवन गरेको पुष्टि भएको हो। ती चालकहरूविरुद्ध आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
सवारी दुर्घटना न्यूनीकरण गर्नुका साथै चालकहरूमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको ट्राफिक प्रहरी निरीक्षक कटुवालले बताए। साथै, यस्तो चेकजाँच अभियानलाई वीरगन्जसहित पर्सा जिल्लाभर निरन्तरता दिइने पनि उनले जानकारी दिए।

















