२० चैत,चितवन । डिभिजन वन कार्यालय चितवनले धार्मिक आस्था र ज्योतिषीय महत्व बोकेका बिरुवाको उत्पादन सुरु गरेको छ। कार्यालयले देववृक्षसहित ग्रह, नक्षत्र र राशिसँग सम्बन्धित ४९ प्रजातिका बिरुवा उत्पादन गर्दै यस वर्ष १० हजार बिरुवा वितरण गर्ने तयारी गरेको जनाएको छ।
कार्यालय प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार यी बिरुवाको प्रयोगबाट धार्मिक बाटिका निर्माण गरी धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ। आगामी दिनमा उत्पादनलाई अझ विस्तार गर्दै यसै वर्ष एक लाख २० हजारभन्दा बढी बिरुवा उत्पादन तथा वितरण गर्ने लक्ष्य राखिएको छ।
सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार, गत वर्ष बाँकी रहेका १० हजार बिरुवा र २५ हजार बहुवर्षीय बिरुवा समेत वितरण गर्ने योजना बनाइएको छ। डिभिजन वन कार्यालयले हरेक वर्ष असार १५ गतेदेखि बिरुवा वितरण सुरु गर्ने परम्परा कायम राख्दै आएको छ।
यस पहलले धार्मिक पर्यटनसँगै वातावरणीय संवर्द्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

















