Logo

२० चैत, वीरगञ्ज । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जगदम्बा समूहका अध्यक्ष शंकरलाल गोल्यान (अग्रवाल) लाई पक्राउ गरेको छ। ब्युरोको टोलीले गोल्यानलाई शुक्रबार साँझ पक्राउ गरेको हो।

जगदम्बा ग्रुपका सञ्चालक गोल्यान र साहिल अग्रवाल विवादित व्यवसायी दीपक भट्टका व्यावसायिक साझेदार हुन्। स्रोतका अनुसार भट्टले स्रोत नखुलेको रकम जगदम्बा समूहमा लगानी गर्दै आएको आशंकामा गोल्यानमाथि अनुसन्धान सुरु गरिएको हो। यद्यपि, गोल्यानको पक्राउका बारेमा प्रहरीले अहिलेसम्म आधिकारिक रूपमा कुनै विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

प्रहरी स्रोतका अनुसार गोल्यानलाई हाल हिरासतमा रहेका दीपक भट्टको मुद्दामा जारी अनुसन्धानकै सिलसिलामा नियन्त्रणमा लिइएको हो। भट्ट पक्राउ परेसँगै उनीसँग वित्तीय सम्बन्ध रहेका अन्य व्यक्तिहरू पनि सिआईबीको निशानामा परेका छन्।

भट्टको बयान र प्रमाणका आधारमा केही ठूला उद्योगी व्यवसायी, राजनीतिक व्यक्तिहरू र क वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरू समेत अनुसन्धानको घेरामा तानिन सक्ने स्रोतको दाबी छ। भट्टले विभिन्न क्षेत्रमा लगानी गरेका अन्य व्यावसायिक साझेदारहरूलाई समेत प्रहरीले कडा निगरानीमा राखेको बुझिएको छ।

यो पक्राउले व्यावसायिक क्षेत्रमा तरंग पैदा गरेको छ भने अवैध धनको लगानी र सम्पत्ति शुद्धीकरणको पाटोमा प्रहरीले अनुसन्धानलाई थप सुक्ष्म बनाउने देखिएको छ।


सम्बन्धित समाचार
भर्खरै