२१ चैत, काठमाडौँ । सामाजिक सञ्जालको दुरुपयोग गरी अश्लील सामग्री निर्माण तथा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले स्याङ्जाका एक पुरुषलाई नियन्त्रणमा लिएको छ ।
नक्कली फेसबुक खाता प्रयोग गरी अश्लील भिडियो बनाएर पीडितका आफन्तलाई पठाउने र मानसिक तनाव दिने कार्यमा संलग्न रहेको अभियोगमा ३२ वर्षीय सुजन खाँण ठकुरी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रसन्न राज चौधरीका अनुसार पुतलीबजार नगरपालिका-८ निवासी ठकुरीले नक्कली प्रोफाइलमार्फत अश्लील सामग्री फैलाउने, पीडितका परिवारलाई पठाएर चरित्र हत्या गर्ने तथा गालीगलौज र धम्की दिने कार्य गर्दै आएका थिए ।
प्रहरीले ठकुरीलाई चैत १९ गते पुतलीबजार–१ स्थित शहीदचोकबाट नियन्त्रणमा लिएको हो । उनीविरुद्ध विद्युतीय अपराध (साइबर अपराध) अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको छ । “हामीले स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर अनुसन्धान सुरु गरेका छौँ,” डीएसपी चौधरीले भने ।
प्रहरीले पछिल्लो समय सामाजिक सञ्जालको माध्यमबाट हुने यस्ता अपराधहरू बढ्दै गएको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ । कसैको मानहानि गर्ने, अश्लील सामग्री सम्प्रेषण गर्ने वा इन्टरनेटमार्फत मानसिक यातना दिने कार्य कानुनतः दण्डनीय हुने भएकाले प्रविधिको सही सदुपयोग गर्न जिल्ला प्रहरी कार्यालयले विशेष अनुरोध समेत गरेको छ ।

















