Logo

२१ चैत, सिरहा । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत नेपाली विषयको दोस्रो दिनको परीक्षामा सिरहामा कडाइ गरिएको छ।

प्रशासनको अनुगमनका क्रममा जिल्लाका ९ वटा परीक्षा केन्द्रबाट १९४ मोबाइल फोन र २ थान स्मार्ट वाच बरामद गरिएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ।

परीक्षा मर्यादा उल्लंघन गरेको पाइएपछि मोबाइलसहित भेटिएका २ जना केन्द्राध्यक्ष र ४ जना निरीक्षकलाई निष्कासन गरिएको छ। निष्कासित हुनेमा बालमन्दिर माध्यमिक विद्यालयका केन्द्राध्यक्ष संजय यादव र जनता माध्यमिक विद्यालय फुलबरियाका केन्द्राध्यक्ष रामकिशोर यादव रहेका छन्।

इकाइ प्रमुख दीपक राज कनौलीका अनुसार प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको नेतृत्वमा खटिएको अनुगमन टोलीले परीक्षा अमर्यादित बनाउने प्रयास देखेपछि तत्काल कारबाही गरेको हो।

विगतमा सिरहाका परीक्षा केन्द्रहरूमा सेटिङ र विचौलियाको सक्रियता देखिँदै आएको थियो। यस वर्ष त्यस्ता गतिविधि रोक्न कडाइका साथ निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताएका छन्।

यस वर्ष सिरहाबाट ११ हजार ३७ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका छन्, जसमा १० हजार ६२५ जना साधारण र ४१२ जना प्राविधिक धारका छन्। परीक्षार्थीमध्ये ५ हजार ३०८ छात्रा र ५ हजार ७२९ छात्र रहेका छन्। जिल्लामा ५१ वटा परीक्षा केन्द्र तोकिएका छन्।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भइरहेको छ।


सम्बन्धित समाचार