२१ चैत, माडी । माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष, अग्रज पत्रकार र शिक्षक नारायण सापकोटा ‘हिरामती देवकोटा स्मृति पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन्।
सामुदायिक रेडियो माडीको पन्ध्रौं वार्षिक साधारणसभा कार्यक्रममा सापकोटालाई दश हजार रुपैंया नगद र सम्मान पत्रसहित सो पुरस्कार प्रदान गरिएको हो। पुरस्कार सामुदायिक रेडियो प्रचारक संघ (अकोराव) का वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटाले सापकोटालाई अर्पण गर्नुभएको हो।
सापकोटाले पत्रकारिता र शिक्षा क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको हो।पुरस्कार ग्रहणपछि सापकोटाले सोही कार्यक्रममा प्राप्त नगद पुरस्कार रकम दिवाकर स्मृति माध्यमिक विद्यालयमा अध्ययनरत गरीब र जेहेन्दार दुईजना छात्रा—जेनिशा बोट र सुस्मिता दराईलाई छात्रवृत्तिका रूपमा हस्तान्तरण गर्ने घोषणा गर्नुभएको छ। यसबाट विद्यार्थीकै भविष्य निर्माणमा सापकोटाको सामाजिक उत्तरदायित्व र सहयोगको भावना प्रकट भएको छ।
नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व सचिव र माडी-७, देवेन्द्रपुरका निवासी सापकोटाले आफ्नो समर्पित जीवन पत्रकारिता र शिक्षा क्षेत्रमा बिताएका छन्। उहाँले विभिन्न व्यक्तिहरूका स्मृति ग्रन्थ सम्पादन र पत्रकारिता प्रशिक्षणमा विशेष योगदान दिनुभएको छ।

















