Logo

२१ चैत,सर्लाही । सर्लाहीको उत्तरपूर्वी भेगस्थित ईश्वरपुर नगरपालिका–१२ चुरेबस्तीमा अज्ञात वन्यजन्तुले चौपायमाथि आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन्।

स्थानीय बासिन्दाका अनुसार जङ्गल चर्न गएका दुईवटा गोरु र केही बाख्रा वन्यजन्तुले मारेको छ। ईश्वरपुर–१२ शीर फूलजोरका दिनेश बम्जनले जङ्गलमा खोजी गर्दा चौपायहरू मासु लुछिएको अवस्थामा मृत फेला परेको जानकारी दिए। उनले देखिएको वन्यजन्तुको शरीरमा पाटापाटा (धारियाँ) रहेको बताउँदै स्थानीयले पाटे बाघ हुनसक्ने आशंका गरेका छन्, यद्यपि यसको आधिकारिक पुष्टि भएको छैन।

घटना भएको क्षेत्र सिन्धुली को मरिण र महोत्तरी को खयरमारास्थित छोड्केसँग सीमा जोडिएको चुरे क्षेत्रमा पर्छ। स्थानीयका अनुसार उक्त वन्यजन्तु केही दिनअघि बाँके खोला तरेर बर्दिवास नगरपालिका–११ तर्फ लागेको अनुमान गरिएको छ।

यसअघि पनि चुरे क्षेत्रका विभिन्न स्थानमा यस्तै घटना भएका थिए। बर्दिवास–११ खयरमाराका वडाध्यक्ष पूर्णबहादुर बलका अनुसार गत वर्ष पनि बाघजस्तै देखिने वन्यजन्तुले केही बाख्रा मारेको घटना भएको थियो।

त्यस्तै, लालबन्दी नगरपालिका–१३ कर्मडण्डीमा गत वर्ष भालु को आक्रमणबाट एक जना घाइते भएका थिए भने सो क्षेत्रमा अझै पनि बेलाबेलामा भालु देखिने गरेको स्थानीयले बताएका छन्। एक महिनाअघि लालबन्दी–१४ नारायणखोलामा रतुवा मृग लाई उद्धार गरिएको भए पनि पछि मृत्यु भएको थियो।

चुरे क्षेत्र भौगोलिक रूपमा विकट हुनुका साथै पछिल्लो समय वन्यजन्तुको गतिविधि बढ्दै जाँदा स्थानीयको दैनिक आवागमनसमेत जोखिमपूर्ण बन्दै गएको छ। विज्ञहरूका अनुसार वनजङ्गलमा बढ्दो मानव हस्तक्षेप र आवागमनका कारण वन्यजन्तु आफ्नो प्राकृतिक बासस्थानबाट बाहिर निस्कन बाध्य भइरहेका छन्।


सम्बन्धित समाचार