Logo

२२ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) भित्रको आन्तरिक कलह सतहमा आएपछि शनिबारका लागि तय गरिएको महत्वपूर्ण बोर्ड बैठक स्थगित भएको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) को खर्च विवरण सार्वजनिक गर्नुपर्ने माग राख्दै आएका उपाध्यक्ष रोशन सिंहसहितको असन्तुष्ट पक्षले बैठक बहिष्कार गरेपछि क्यानको कार्यसम्पादनमा अवरोध सिर्जना भएको हो ।

साधारण सभा, आगामी वर्षको बजेट र अडिट रिपोर्ट जस्ता गम्भीर एजेन्डाहरूमा छलफल गर्नुपर्ने समयमा नेतृत्व र बोर्ड सदस्यहरूबीचको अविश्वासले बैठक बस्न नसकेपछि क्यानभित्रको राजनीति नयाँ मोडमा पुगेको छ ।

विवादको मुख्य जड एनपीएलको आर्थिक पारदर्शिता बनेको छ । उपाध्यक्ष सिंहसहित दुर्गा पाठक, विक्रम विष्ट, माधव कर्माचार्य, वीरेन्द्र चन्द, अर्जुन पौडेल, प्रदीप मजगैया र जयन्ती भट्ट गरी ८ जना बोर्ड सदस्यले गत जेठमै अध्यक्ष चतुरबहादुर चन्दलाई ज्ञापनपत्र बुझाउँदै खर्चको विस्तृत विवरण माग गरेका थिए ।

लामो समय बितिसक्दा पनि नेतृत्वले हिसाब सार्वजनिक गर्न आलटाल गरेको आरोप लगाउँदै उनीहरूले सामूहिक रूपमा बैठकमा अनुपस्थित हुने निर्णय लिएका हुन् । हिसाब नपाएसम्म नीतिगत निर्णयमा सहभागी नहुने असन्तुष्ट पक्षको अडानले क्यानको प्रशासनिक कार्यमा समेत धक्का लागेको छ ।

बैठक स्थगित भएपछि क्यान अध्यक्ष चन्दले भने सबै सदस्यको उपस्थितिलाई सुनिश्चित गर्न सोमबारका लागि बैठक सारिएको भन्दै स्थितिलाई सामान्य बनाउने प्रयास गरेका छन् । केही सदस्यहरू उपत्यका बाहिर रहेको र अनौपचारिक छलफल भइरहेको दाबी गर्दै उनले सबैलाई समेटेर अघि बढ्ने बताए पनि असन्तुष्ट पक्षको आक्रोश थामिने संकेत देखिएको छैन ।

क्रिकेटको अन्तर्राष्ट्रिय क्यालेन्डर र महत्वपूर्ण प्रतियोगिताहरूको तयारी गर्नुपर्ने बेला सर्वोच्च निकायभित्रै आर्थिक पारदर्शिताको प्रश्न उठ्नु र बैठक नै प्रभावित हुनुले नेपाली क्रिकेटको सुशासनमाथि पुनः गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।


सम्बन्धित समाचार