२२ चैत, काठमाडौँ । व्यावसायिक घराना शंकर समूहका सञ्चालकहरूमाथि सम्पत्ति शुद्धीकरणको गम्भीर अनुसन्धान सुरु भएसँगै त्यसको प्रत्यक्ष असर बिमा क्षेत्रमा पनि देखिएको छ ।
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष सुलभ अग्रवालले पदबाट दिएको राजीनामालाई कम्पनीको सञ्चालक समितिले औपचारिक रूपमा स्वीकृत गरेको छ । अग्रवालले गत चैत १९ गते नै अध्यक्ष र सञ्चालक दुवै पद त्याग गर्ने घोषणा गरेका थिए, जसलाई शुक्रबार बसेको सञ्चालक समितिको बैठकले अनुमोदन गरेको कम्पनी सचिव ईश्वर कुमार सेढाईंले पुष्टि गर्नुभएको छ ।
अग्रवालको यो बहिर्गमन केवल व्यक्तिगत निर्णय नभई पछिल्लो समय विकसित भएको गम्भीर कानुनी झमेलाको परिणाम मानिएको छ । शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवालका छोरा सुलभ र उनका पिता दुवैलाई हाल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईब) र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अग्रवाल परिवार र उनीहरूका व्यावसायिक साझेदार दीपक भट्टको आर्थिक कारोबारमाथि सूक्ष्म निगरानी बढाएपछि हिमालयन लाइफको नेतृत्वमा यो परिवर्तन आएको हो । भट्टलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।
मुख्य सञ्चालकहरू नै फौजदारी र आर्थिक अपराधको अनुसन्धानमा तानिएपछि कम्पनीको साख र सुशासनमा प्रश्न उठ्न नदिन अग्रवालले राजीनामा दिएको विश्लेषण गरिएको छ । बिमा क्षेत्रको ठूलो हिस्सा ओगटेको हिमालयन लाइफमा नेतृत्वको यो रिक्तताले आगामी दिनमा संस्थागत निर्णय प्रक्रियामा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ ।
हाल विभागले उनीहरूका विभिन्न कम्पनीहरू बीच भएका शंकास्पद वित्तीय कारोबार र लगानीको स्रोतका विषयमा विस्तृत छानबिन गरिरहेको छ, जसले समग्र व्यावसायिक वृत्तमा तरंग पैदा गरेको छ ।

















