२२ चैत, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीव्र गिरावट आउँदा लगानीकर्ताहरूमा सन्त्रास फैलिएको छ ।
बजार खुलेको साढे दुई घण्टाको छोटो अवधिमै नेप्से परिसूचक ३।६८ प्रतिशत अर्थात् १०२।६० अंकले ओरालो लागेर २६७९।५७ विन्दुसम्म झरेको हो । कारोबारको सुरुवाती समयदेखि नै बिक्री चाप उच्च हुँदा बजारले ओरालो यात्रा तय गरेको थियो, जसका कारण झन्डै सबैजसो सूचीकृत कम्पनीहरूको सेयर मूल्यमा उच्च गिरावट देखिएको छ । पछिल्लो समय सम्पत्ति शुद्धीकरणको अनुसन्धान र ठूला व्यापारिक घरानाहरूमाथि भइरहेको कानुनी कारबाहीको मनोवैज्ञानिक असर पुँजी बजारमा प्रत्यक्ष रूपमा प्रतिबिम्बित भएको विश्लेषण गरिएको छ ।
बजारमा आएको यो ुप्यानिक सेलु का बीच केबल ७ वटा कम्पनीका लगानीकर्ताले मात्र सामान्य नाफा कमाउन सकेका छन् भने बाँकी सबै स्टकहरूको मूल्य रातो देखिएको छ । परिसूचक १०० अंकभन्दा बढीले तल झरेपछि बजारमा केही समय ठूलै हलचल पैदा भए पनि पछिल्लो समय भने नेप्सेमा सामान्य सुधार (रिकभर) हुने संकेतहरू देखिन थालेका छन् । तल्लो विन्दुमा सेयर उठाउने लगानीकर्ता सक्रिय हुन थालेपछि बजारले थप गिरावट रोक्ने प्रयास गरिरहेको छ । यद्यपि, बजारको यो अस्थिरता र तीव्र गिरावटले सर्वसाधारण लगानीकर्ताहरूलाई भने थप सचेत र पर्ख र हेरको अवस्थामा पुर्याएको छ ।
विज्ञहरूका अनुसार बजारमा देखिएको यो गिरावट केवल प्राविधिक नभई पछिल्लो राजनीतिक र कानुनी घटनाक्रमको प्रतिविम्ब पनि हो । ठूला घरानाहरूमाथि भइरहेको अनुसन्धानले बजारको तरलता र लगानीकर्ताको मनोबलमा नकारात्मक प्रभाव पारेको देखिन्छ। कारोबार समय अझै बाँकी रहेकाले बजार कुन विन्दुमा पुगेर थामिन्छ भन्ने कुरा लगानीकर्ताका लागि चासोको विषय बनेको छ ।
आजको यो भारी गिरावटले आगामी दिनमा बजारको दिशा कता जान्छ र नियामक निकायले यसमा कस्तो हस्तक्षेप गर्छन् भन्ने कुरा पनि महत्वपूर्ण हुने देखिएको छ ।

















