२२ चैत,सर्लाही । चन्द्रनगर गाउँपालिका–२ बिर्ताटोलमा दुई महिनाअघि भएको सवारी दुर्घटनामा ज्यान गुमाएकी एक महिलाको परिवारले अझैसम्म क्षतिपूर्ति रकम नपाएको गुनासो गरेका छन्।
गत माघ १६ गते बिहान बिर्ताबाट बर्कुरवातर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ६५ वर्षीया शान्तिदेवी ठाकुर गम्भीर घाइते भएकी थिइन्। उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि न्यूरो अस्पताल लगिएकोमा सोही दिन साँझ उपचारकै क्रममा मृत्यु भएको थियो।
दुर्घटना भएको दुई महिना बितिसक्दा पनि कानुनबमोजिम पाउनुपर्ने क्षतिपूर्ति नपाएको मृतकका कान्छा छोरा सञ्जित शर्माले गुनासो गरेका छन्। परिवारले शनिबार पत्रकार सम्मेलन गरी यसबारे असन्तुष्टि सार्वजनिक गरेको हो।
दुर्घटनामा संलग्न मोटरसाइकल चालक बिशाल महतो सर्लाही जिल्ला अदालत को आदेशअनुसार एक लाख रुपैयाँ धरौटी बुझाएर रिहा भइसकेका छन्। मृतकका परिवारले चालकसँग सवारी चालक अनुमतिपत्र नहुँदा पनि प्रहरीले सामान्य रूपमा मुद्दा अघि बढाई छिट्टै रिहा गराएको आरोप लगाएका छन्।
परिवारले घटनास्थलको मुचुल्का र अदालतमा पेस गरिएको विवरणमा फरक रहेको दाबी गर्दै संलग्न प्रहरीमाथि कारबाहीको माग गरेका छन्। “हाम्रै आमाले ज्यान गुमाउनुभयो, तर प्रहरी कार्यालय जाँदा हामीलाई नै नचिनेझैँ व्यवहार गरिन्छ,” सञ्जित शर्माले पत्रकार सम्मेलनमा बताए।
यस विषयमा इलाका प्रहरी कार्यालय केशरगञ्ज का प्रहरी निरीक्षक नितेशकुमार सिंहले भने मृतकको परिवारले पाउने क्षतिपूर्ति रकम उपलब्ध रहेको स्पष्ट पारेका छन्। उनका अनुसार चालकले जिल्ला प्रशासन कार्यालयमा पाँच लाख ५० हजार रुपैयाँ धरौटी राखिसकेको छ, जसमा पाँच लाख क्षतिपूर्ति र ५० हजार किरिया खर्च समावेश छ।
प्रहरीले आवश्यक कागजातसहित सोझै जिल्ला प्रशासन कार्यालय सर्लाही मा सम्पर्क गरेर रकम बुझ्न परिवारलाई आग्रह गरेको छ। साथै, अनावश्यक प्रभावमा नपरी प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।
घटनापछि क्षतिपूर्ति वितरण प्रक्रियामा देखिएको ढिलाइ र विवादले स्थानीयस्तरमा न्याय र प्रशासनिक पारदर्शितामाथि प्रश्न उठाएको छ।

















