Logo

 २२ चैत,काठमाडौं । नेपाली बजारमा अन्डाको मूल्य पुनः वृद्धि भएको छ। नेपाल लेयर्स कुखुरापालक संघ ले आइतबारदेखि लागू हुने गरी अन्डाको नयाँ समर्थन बिक्री मूल्य सार्वजनिक गरेको हो।

नयाँ मूल्यसूचीअनुसार सबै आकारका अन्डामा प्रतिक्रेट १५ रुपैयाँले वृद्धि गरिएको छ। संघका अनुसार अब सबैभन्दा ठूलो एक्सएल अन्डाको फार्म (थोक) मूल्य प्रतिक्रेट ४७५ रुपैयाँ कायम भएको छ, जुन यसअघि ४६० रुपैयाँ थियो।

त्यस्तै, ठूलो अन्डाको मूल्य ४३५ रुपैयाँबाट बढेर ४५० रुपैयाँ पुगेको छ भने मिडियम अन्डाको मूल्य ३८५ रुपैयाँबाट बढेर ४०० रुपैयाँ निर्धारण गरिएको छ।

संघका सचिव मदन पोखरेलका अनुसार किसानसँगको निरन्तर छलफल तथा कार्यसमितिको निर्णयअनुसार उत्पादन लागत बढ्दै गएकाले मूल्य समायोजन गर्नुपरेको हो। उनले बजार स्थिरता कायम राख्दै किसानको लागत सुरक्षित गर्न मूल्य वृद्धि आवश्यक भएको बताए।

संघले चितवनलाई आधार मानेर फार्म मूल्य निर्धारण गरिएको जनाएको छ। साथै, चितवन बाट देशका विभिन्न सहरका डिपोसम्म अन्डा ढुवानी गर्दा भाडा, कार्टुन र क्रेट खर्चबापत थप १४५ रुपैयाँसम्म लाग्ने पनि स्पष्ट पारेको छ।

मूल्य वृद्धिसँगै उपभोक्तामा थप भार पर्ने भए पनि किसानलाई राहत पुग्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै