२२ चैत,काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मा राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत बाघ गणना सम्पन्न भएको छ। निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्ले ले फिल्ड काम सकिएर अहिले क्यामेरा सङ्कलन भइरहेको जानकारी दिनुभयो।
गत फागुनको अन्तिम सातादेखीदेखि ‘क्यामेरा ट्र्यापिङ’ विधिबाट सुरु गरिएको गणनामा शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा ७७ जनाको प्राविधिक टोलीले ५२० स्वचालित क्यामेरा जडान गरी बाघको उपस्थिति र संख्या पत्ता लगाउने काम गरेको थियो।
वाग्लेका अनुसार सङ्कलित क्यामेराका तस्बिरहरूको विश्लेषण गरेर बाघको वास्तविक संख्या निर्धारण गरिनेछ। निकुञ्जमा प्रत्येक ४ वर्षमा राष्ट्रिय बाघ गणना हुँदै आएको छ। सन् २०२२ को राष्ट्रिय गणनाअनुसार शुक्लाफाँटामा ३६ वटा बाघ थिए।
निकुञ्जको आन्तरिक सर्वेक्षणअनुसार हाल ४३ वटा बाघ रहेका छन् र यसपटकको राष्ट्रिय गणनामा पनि सोही संख्या रहने अनुमान संरक्षण अधिकृतहरूको छ। वाग्लेले भन्नुभयो, “निकुञ्जको आन्तरिक सर्वेक्षणमा ४३ वटा बाघ छन्, एकै वर्षमा धेरै संख्या नबढेका हुनसक्छन्, यसपटकको गणनामा पनि त्यही संख्या हुनसक्छ।”
गणना परिणाम सार्वजनिक भएपछि निकुञ्जमा बाघ संरक्षण र व्यवस्थापनमा थप योजनाहरू निर्धारण गरिने छ।

















