२२ चैत,महोत्तरी । बर्दिबास युथ क्लब ले महोत्तरीको बर्दिबास अस्पताल लाई थाइराइड रोग पहिचानका लागि आवश्यक उपकरण प्रदान गरेको छ। रु २५ लाख बराबर मूल्यको ‘सिला मागलुमि ८००’ नामक मेसिन अस्पतालमा थाइराइड परीक्षणका लागि प्रयोग गरिनेछ।
अस्पतालमा यसअघि थाइराइड रोग पहिचानका लागि उपकरण नहुँदा बिरामीहरूले अन्य अस्पताल पुग्नुपर्ने बाध्यता थियो। यस अवस्थालाई ध्यानमा राख्दै बर्दिबास युथ क्लब ले रु २४ लाख ८६ हजार मूल्यको थाइराइड उपचार मेसिन अस्पताललाई हस्तान्तरण गरेको हो।
सो अवसरमा क्लबका अध्यक्ष कृष्ण कार्की ले नगरप्रमुख प्रल्हादकुमार क्षेत्री र अस्पताल विकास समितिका अध्यक्ष जयनारायण शर्मा लाई मेसिन हस्तान्तरण गर्नुभयो।
नगरप्रमुख क्षेत्री र अस्पताल विकास समितिका अध्यक्ष शर्माले अब अस्पतालमा आजैदेखि थाइराइड रोगको परीक्षण र उपचार सुरु गरिने जानकारी दिएका छन्।


















