२२ चैत, काठमाडौं । सरकारी कार्यालयहरूमा सेवाग्राहीलाई अनावश्यक हैरानी दिने र प्रक्रियामा अवरोध सिर्जना गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले ललितपुरका दुई महत्वपूर्ण कार्यालयबाट ३२ जना बिचौलियालाई नियन्त्रणमा लिएको छ ।
आइतबार जिल्ला प्रहरी परिसर ललितपुरको कमान्डमा खटिएको विशेष टोलीले लगनखेलस्थित नापी कार्यालय र एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा छापा मारी उनीहरूलाई पक्राउ गरेको हो । सेवाग्राहीको भेषमा सरकारी अड्डाहरूमा बसेर काम छिटो गराइदिने बहानामा रकम असुल्ने र कर्मचारीसँगको मिलेमतोमा बिचौलिया संयन्त्र चलाउनेहरूमाथि प्रहरीले निगरानी बढाएको सन्दर्भमा यो ठूलो सफलता मिलेको हो ।
जिल्ला प्रहरी परिसर, प्रहरी वृत्त सातदोबाटो र वडा प्रहरी कार्यालय लगनखेलको संयुक्त टोलीले चलाएको यस कारबाहीका क्रममा नापी कार्यालयबाट २१ जना र यातायात कार्यालयबाट ११ जना व्यक्तिहरू समातिएका छन् । पक्राउ परेकाहरूले कार्यालयको गेट र भित्रै बसेर सेवाग्राहीलाई झुक्याउने, लाइन मिचिदिने प्रलोभन देखाउने र विनाकारण प्रक्रिया जटिल बनाइदिने जस्ता क्रियाकलाप गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
लामो समयदेखि यी कार्यालयहरूमा बिचौलियाको राज रहेको जनगुनासो बढेपछि प्रहरीले सादा पोसाकमा टोली खटाएर यस ‘स्वीप अप्रेसन’ लाई पूर्णता दिएको हो ।
परिसरका अनुसार पक्राउ परेका सबै ३२ जनालाई हाल हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। उनीहरूमाथि सार्वजनिक शान्ति र व्यवस्था विरुद्धको कसुर वा प्रचलित कानुन बमोजिम मुद्दा चलाउने तयारी भइरहेको छ ।
सरकारी कार्यालयहरूलाई बिचौलियामुक्त बनाउने र आम नागरिकले सहज रूपमा सेवा पाउने वातावरण सुनिश्चित गर्न आगामी दिनमा पनि यस्ता छड्के जाँच र कारबाहीलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ ।
यो कारबाहीसँगै ललितपुरका अन्य सरकारी कार्यालयहरूमा पनि बिचौलियाहरूको भागदौड मच्चिएको छ भने सेवाग्राहीहरूले प्रहरीको यस कदमको स्वागत गरेका छन् ।

















