२२ चैत,काठमाडौं । सर्वोच्च अदालतले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सोमबार सुनुवाइ हुने भएको छ।
अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलले आज सुनुवाइ सुरु गरे पनि समय अभावका कारण सोमबारका लागि स्थगित गर्नुपर्ने भएको हो।
रिट निवेदन अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले यही चैत १५ गते दायर गरेका थिए। निवेदनमा दाबी गरिएको छ कि दुवै नेता गैरकानुनी रूपमा थुनामा राखिएका छन्।
यसअघि, न्यायाधीश मेघराज पोखरेलको इजलासले अध्यक्ष ओली र न्यायाधीश कुमार रेग्मीको इजलासले नेता लेखकको रिट निवेदनमा यही चैत १६ गते कारण देखाउ आदेश जारी गरेको थियो।
रिट निवेदनमा गत भदौ २३–२४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिस आधार बनाएर पक्राउ गर्नु र थुनामा राख्नु गैरकानुनी भएको उल्लेख छ। साथै कुनै पनि जाँचबुझ आयोगले प्रतिवेदनकै आधारमा सिधै पक्राउ गर्ने अधिकार कानुनले नदिएको पनि रिटमा भनिएको छ।

















