Logo

२३ चैत, चितवन । व्यक्तिगत उत्सवलाई सामाजिक सेवासँग जोड्ने उदाहरण प्रस्तुत गर्दै भरतपुर महानगरपालिका–५, टाइगर चोक निवासी लोकराज सापकोटाले आफ्नो ४१औँ जन्मदिन बालबालिकासँग मनाएका छन् ।

चैत्र २२ गते परेको जन्मदिनका अवसरमा सापकोटाले पत्नी जुना सापकोटा र छोराछोरीसहित “सानो घर” बालगृहमा पुगेर त्यहाँ आश्रित अभिभावकविहीन नानीहरूका लागि एक छाक भोजनको व्यवस्था गरेका हुन् ।

२०६७ सालदेखि सञ्चालनमा रहेको उक्त बालगृहले असहाय बालिकाहरूको पालनपोषण र शिक्षामा योगदान पुर्‍याउँदै आएको छ। यस्तो संस्थामा स्थानीय स्तरबाट हुने सहयोगले बालबालिकाको जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

कार्यक्रममा “सानो घर” की अध्यक्ष बिमला श्रेष्ठले जन्मदिनजस्तो व्यक्तिगत अवसरलाई सेवा र सद्भावसँग जोडेको भन्दै सापकोटा परिवारप्रति आभार व्यक्त गरिन्। उनका अनुसार यस्ता कार्यले बालबालिकामा अपनत्व र आत्मविश्वास बढाउन मद्दत पुग्नेछ ।

सापकोटाले पनि आफ्नै टोलमा भइरहेको सामाजिक कार्यबारे नजिकबाट बुझ्ने अवसर पाएको बताउँदै आगामी दिनमा समेत सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

उक्त दिन बालबालिकाहरू उत्साहित देखिएका थिए। परिवारसरह माया र साथ पाउँदा उनीहरूले विशेष खुसी व्यक्त गरेका थिए ।

सामान्य देखिने व्यक्तिगत उत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दा समाजमा सकारात्मक सन्देश फैलिन सक्ने देखिएको छ ।


सम्बन्धित समाचार