Logo

२३ चैत, काठमाडौं । सेयर बजारमा देखिएको तीव्र उतारचढाव र लगानीकर्ताको घट्दो मनोबलका बीच अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल स्टक ब्रोकर एशोसिएसनका प्रतिनिधिहरूबीच आज अर्थ मन्त्रालयमा महत्वपूर्ण विमर्श भएको छ ।

आइतबार मात्रै नेप्सेमा १०५ अंकको पहिरो गएपछि लगानीकर्ताहरू सडकदेखि सामाजिक सञ्जालसम्म आन्दोलित भइरहेको परिवेशमा यो भेटघाटलाई विशेष चासोका साथ हेरिएको छ । बिहान ९ः४५ बजे सुरु भई करिब आधा घण्टा चलेको उक्त संवादमा ब्रोकर प्रतिनिधिहरूले बजारको वर्तमान संकट समाधानका लागि अर्थमन्त्रीको प्रत्यक्ष हस्तक्षेप र अभिभावकीय भूमिकाको खोजी गरेका थिए ।

छलफलका क्रममा एशोसिएसनका पदाधिकारीहरूले पुँजी बजारलाई केवल सट्टेबाजीको क्षेत्रका रूपमा नभई देशको अर्थतन्त्रको ऐनाका रूपमा विकास गर्नुपर्ने धारणा राखेका थिए । उनीहरूले विशेषगरी ब्रोकरहरूको कार्यक्षेत्र विस्तार, प्रविधिमा आधारित पारदर्शी कारोबार प्रणाली र नीतिगत स्थिरताका विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

लगानीकर्ताहरूको आत्मविश्वास धर्मराएको वर्तमान अवस्थामा सरकारले ठोस सम्बोधन नगरे बजार थप जोखिममा पर्ने संकेत गर्दै उनीहरूले नीतिगत करेक्सनको माग राखेका थिए ।

जवाफमा अर्थमन्त्री वाग्लेले बजारको पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको बताउँदै यसलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन सरकार सकारात्मक रहेको आश्वासन दिनुभएको छ । बजारमा देखिएको अस्वाभाविक गिरावट र लगानीकर्ताको आक्रोशलाई शान्त पार्न अर्थ मन्त्रालयले कस्तो कदम चाल्छ भन्ने कुरा अबको केही दिनमा स्पष्ट हुने देखिएको छ ।

आधा घण्टा लामो यो भेटवार्ताले १०ः१५ बजे बिट मारे पनि यसले बजारका सरोकारवालाहरूमा भने केही आशा र थुप्रै जिज्ञासाहरू बाँकी छोडेको छ ।


सम्बन्धित समाचार