Logo

२३ चैत, काठमाडौं । अर्थ मन्त्रालयले अर्थतन्त्रको वास्तविक चित्र प्रस्तुत गर्न ल्याउन लागेको श्वेतपत्र अन्तिम समयमा आएर स्थगित गरेको छ ।

आइतबार नेप्से परिसूचकमा १०५.५ अंकको ठूलो गिरावट आएर २६७६.६८ बिन्दुमा झरेपछि मन्त्रालयले यस्तो निर्णय लिएको हो । चैत १२ सम्मको आर्थिक विवरण समेटिएको उक्त दस्ताबेज सार्वजनिक गर्दा बजारमा थप निराशा छाउने र लगानीकर्तामा त्रास बढ्ने जोखिम देखिएकाले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पछि हटेका छन् ।

विशेषगरी अघिल्लो सरकारको आलोचना र वर्तमान कमजोर आर्थिक सूचकहरूले पुँजी बजारमा थप पहिरो ल्याउन सक्ने डर मन्त्रालयमा देखिएको छ ।

ब्रोकरहरूको दबाब र नीतिगत सुधारको माग

यसैबीच, स्टक ब्रोकर एशोसिएसनका प्रतिनिधिहरूले सोमबार अर्थमन्त्रीलाई भेटेर बजार सुधारका लागि तत्काल ठोस हस्तक्षेप गर्न माग गरेका छन् । उनीहरूले सम्पत्ति शुद्धीकरणको नाममा भइरहेको धरपकडले लगानीकर्ता त्रसित बनेको उल्लेख गर्दै नीतिगत स्पष्टता आवश्यक रहेकोमा जोड दिएका छन् । ब्रोकरहरूले बैंक तथा वित्तीय संस्थामा रहेको ६ महिनाको ‘क्याप’ हटाउनुपर्ने, गैरआवासीय नेपालीलाई बजारमा प्रवेश सहज बनाउनुपर्ने र पुँजीगत लाभकरको अन्योल सधैंका लागि अन्त्य गर्नुपर्ने जस्ता महत्वपूर्ण सुझावहरू मन्त्रीसमक्ष राखेका छन्।

सरकारको आश्वासनः अब श्वेतपत्र कि सुधार प्याकेज ?

लगानीकर्ता र ब्रोकरहरूको कुरा सुनेपछि अर्थमन्त्री वाग्लेले बजारलाई स्थिर बनाउन सरकार प्रतिबद्ध रहेको आश्वासन दिएका छन् । उनले लगानीकर्तालाई नआत्तिन आग्रह गर्दै बजारको मनोबल उकास्न आवश्यक कदम चाल्ने आश्वासन दिएका हुन् ।

अर्थमन्त्रीको यो पछिल्लो सक्रियताले सरकार अब श्वेतपत्र सार्वजनिक गर्नुभन्दा पहिले सेयर बजारका समस्या सम्बोधन गर्ने गरी नयाँ ‘धार प्याकेज ल्याउने तयारीमा लागेको संकेत गरेको छ ।


सम्बन्धित समाचार