Logo

२३ चैत, काठमाडौं । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेल पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको गम्भीर आरोपमा तानिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलले गैरकानुनी रूपमा कमाएको धनलाई वैध देखाउन वित्तीय कारोबारको जटिल र नक्कली जालो बुनेको ठहर गर्दै विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको हो । अनुसन्धानका क्रममा पौडेल र उनकी श्रीमती हुमा कुमारी उपाध्यायको नाममा विभिन्न बैंक तथा सहकारीमा रहेको २ करोड ५१ लाख रुपैयाँभन्दा बढी रकमको स्रोत नखुलेपछि आयोगले ब्याजसहित २ करोड ५८ लाख ६७ हजार ३२४ रुपैयाँ बिगो कायम गरी आरोपपत्र दर्ता गराएको छ ।

अख्तियारको दाबीअनुसार आठौँ तहका कर्मचारी पौडेलले अवैध कमाइ लुकाउन कुनै ऋण नै नलिई विभिन्न व्यक्तिलाई २ करोड ५३ लाख रुपैयाँ फिर्ता गरेको भन्दै झुट्टा कागजात र फेक सापटीको विवरण तयार पारेका थिए । यस संगठित भ्रष्टाचारजन्य कार्यमा मतियारको भूमिका निभाएको भन्दै उनकी श्रीमती हुमा कुमारीसहित सहयोगीहरू जमुना कुमारी रोका क्षेत्री, हरि प्रसाद पौडेल र शान्ति दराई पौडेललाई पनि प्रतिवादी बनाइएको छ ।

भ्रष्टाचारको रकम हो भन्ने जान्दाजान्दै स्रोत लुकाउन सहयोग गरेको कसुरमा उनीहरूविरुद्ध पनि करोडौँको बिगो र मुख्य अभियुक्तलाई हुने सजायको आधा कैद तथा जरिवानाको मागदाबी गरिएको छ ।

आयोगले मुख्य अभियुक्त पौडेलसँग बिगो बमोजिमकै जरिवाना, कैद सजाय र उनको खातामा रहेको १ करोड ७० लाख रुपैयाँभन्दा बढी रकम जफत गर्न माग गरेको छ । यसअघि गत असारमा पनि गैरकानुनी सम्पत्ति आर्जनकै विषयमा अर्को भ्रष्टाचार मुद्दा खेपिसकेका पौडेलका लागि यो नयाँ मुद्दाले थप संकट पैदा गरिदिएको छ ।

कर्मचारी संयन्त्रभित्र बसेर राज्यकोष र पदको चरम दुरुपयोग गर्ने यस्ता प्रवृत्ति विरुद्ध अख्तियारले लिएको यो पछिल्लो कदमलाई सुशासनको दिशामा एउटा कडा प्रहारका रूपमा हेरिएको छ ।


सम्बन्धित समाचार