Logo

२३ चैत, काठमाडौं । नेकपा एमालेकी प्रभावशाली नेतृ तथा राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले भदौ २४ गते सिंहदरबारमा भएको विध्वंसात्मक आगजनीको घटनालाई लिएर सरकारमाथि कडा प्रश्न प्रहार गर्नुभएको छ ।

सोमबारको राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्वमन्त्री समेत रहनुभएकी झाँक्रीले राज्यको प्रमुख प्रशासनिक केन्द्रलाई खण्डहर बनाउने गरी भएको उक्त हिंसात्मक घटनाको निष्पक्ष छानबिन कहिले हुन्छ भनी सरकारको जवाफ माग गर्नुभयो। भदौ २३ गतेको आन्दोलनलाई शान्तिपूर्ण भनिए पनि २४ गते जसरी सिंहदरबार जलाइयो, त्यसले राज्यविरुद्ध जे गरे पनि हुन्छ भन्ने गलत भाष्य निर्माण गरेको भन्दै उहाँले यसमा गम्भीर चिन्ता व्यक्त गर्नुभयो।

सांसद झाँक्रीले नवयुवाहरूलाई गलत ढङ्गले परिचालन गरेर सरकारी संरचनामा क्षति पुर्‍याउन लगाउने मुख्य योजनाकारको पहिचान हुनुपर्नेमा जोड दिनुभयो । ‘राज्यका विरुद्ध जलाउँदा केही हुन्न भन्ने भाष्य कसले खडा गरिदियो र ती युवाहरूलाई कसले प्रयोग गर्‍यो? भन्दै उहाँले यो प्रश्नको उत्तर आज नभए पनि भोलि इतिहासले खोज्ने बताउनुभयो। सिंहदरबार जस्तो संवेदनशील क्षेत्र जलाइँदा पनि सरकारले ‘कार्पेटमुनि धुलो लुकाए झैँ’ सबै कुरा सामान्य छ भनेर मौन बस्नु स्वीकार्य नहुने उहाँको तर्क थियो ।

घटनाको सत्यतथ्य बाहिर ल्याउन भइरहेको ढिलाइप्रति आपत्ति जनाउँदै झाँक्रीले राष्ट्रिय सम्पत्तिमाथि भएको यो प्रहारको जिम्मेवारी कसले लिने भनी प्रश्न गर्नुभयो । उहाँले सिंहदरबार खण्डहर बनेको दृश्यले आफूलाई भावविह्वल बनाएको स्मरण गर्दै इतिहासमा भएको यो कलङ्कपूर्ण घटनाको यथार्थ विवरण सार्वजनिक गर्न सरकारलाई दबाब दिनुभएको छ । राज्यको अस्तित्वमाथि नै प्रश्न उठ्ने गरी भएका यस्ता गतिविधिलाई ढाकछोप नगरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने उहाँको मुख्य माग रहेको छ ।


सम्बन्धित समाचार