Logo

२३ चैत, काठमाडौ । प्रतिनिधिसभाको सोमबारको बैठकले मुलुकको निर्वाचन प्रणाली र सुरक्षा संयन्त्रसँग जोडिएका तीन महत्त्वपूर्ण अध्यादेशहरूलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

गृहमन्त्री सुधन गुरुङले सदनसमक्ष प्रस्तुत गर्नुभएको ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२, प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ र नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२ लाई बैठकले अनुमोदन गरेको हो । सभामुख डोलप्रसाद अर्यालले ती प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्दा सांसदहरूले हुन्छ भनी ध्वनि मतका साथ समर्थन जनाएपछि यी अध्यादेशहरूले कानुनी मान्यता पाउने बाटो खुलेको छ ।

यी अध्यादेशहरूको स्वीकृतिसँगै मतदाता नामावली सङ्कलन र प्रतिनिधिसभा निर्वाचनका केही प्राविधिक तथा कानुनी जटिलताहरू फुक्ने अपेक्षा गरिएको छ । विशेष गरी नेपाल विशेष सेवासँग सम्बन्धित संशोधनले राष्ट्रिय सुरक्षा र गुप्तचरी संयन्त्रलाई समयसापेक्ष सुदृढ बनाउन मद्दत पुग्ने सरकारको विश्वास छ ।

संसद्को अधिवेशन ढिला गरी सुरु भएको अवस्थामा सरकारले ल्याएका यी अध्यादेशहरूलाई सदनले प्राथमिकताका साथ अनुमोदन गरेसँगै निर्वाचन र सुरक्षाका आगामी कार्यदिशा थप प्रस्ट भएका छन् ।


सम्बन्धित समाचार