२३ चैत, काठमाडौं । आइतबार १०५ अंकको पहिरो व्यहोरेको सेयर बजारमा सोमबार नाटकीय सुधार देखिएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लगानीकर्ता र सरोकारवाला निकायसँगको भेटमा बजार सुधारका लागि रुपान्तरणकारी कदम चाल्ने र अनावश्यक रूपमा नआत्तिन आश्वासन दिएपछि लगानीकर्ताको मनोबल उच्च भएको हो ।
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढेर २७६०.९० को विन्दुमा उक्लिएको छ । कारोबार अवधिको बीचमा बजार ९८ अंकसम्म बढेर २७७५ को उच्चतम विन्दुसम्म पुगे पनि अन्तिममा केही सामान्य अंक घटेर बजार बन्द भएको हो । अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने सामान्य संकुचन देखिएको छस आइतबार करिब साढे १२ अर्बको कारोबार भएकोमा सोमबार १० अर्ब ९२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
आजको बजार वृद्धिमा हाइड्रोपावर र फाइनान्स समूहको दबदबा देखिएको छ। विशेषगरी हाइड्रोपावर समूह ४।५९ प्रतिशतले वृद्धि हुँदा फाइनान्स समूह ४.०३ प्रतिशतले बढेको छ । कुल २६४ कम्पनीको सेयर मूल्य उकालो लाग्दा उपकार लघुवित्त, रिडी पावर, नेसनल हाइड्रोपावर लगायतका आठ कम्पनीको मूल्यमा १० प्रतिशतको अपर सर्किट लागेको छ ।
बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन र बीमा लगायतका सबै उपसूचकहरू आज हरियाली बनेका छन् । अर्थमन्त्रीले सेजन र ब्रोकर एसोसिएसनका पदाधिकारीसँगको भेटमा नेप्सेको पुनर्संरचना र रास्वपाको घोषणापत्र अनुसार बजार सुधारको काम अघि बढेको स्पष्ट पारेकाले पनि लगानीकर्तामा सकारात्मक सन्देश गएको विश्लेषण गरिएको छ ।
कारोबारका आधारमा रिलायन्स स्पिनिङ मिल्स, हिमालयन रिइन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर अग्रस्थानमा रहेका छन् । यद्यपि, अघिल्लो दिन सर्किट लागेको रिलायन्स स्पिनिङ मिल्समा भने आज बिक्री चाप बढ्दा मूल्य १.६० प्रतिशतले ओरालो लागेको छ । जम्मा ४ वटा कम्पनीको मात्रै मूल्य घटेको आजको बजारमा अधिकांश हाइड्रोपावर कम्पनीका लगानीकर्ताले उल्लेख्य नाफा कमाएका छन् ।
सरकारले आगामी बजेटमार्फत पुँजी बजारका नीतिगत गाँठो फुकाउने संकेत दिएकाले बजारले पुनः लय समात्ने अपेक्षामा लगानीकर्ताहरू उत्साहित देखिएका छन् ।


















