Logo

२४, चैत, काठमाडौं । सरकारले विभिन्न ६ मुलुकमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गर्दै कुटनीतिक नियोगहरूमा व्यापक हेरफेरको संकेत दिएको छ ।

पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारद्वारा राजनीतिक कोटामा नियुक्त गरिएका भारतसहित ६ देशका राजदूतहरूलाई एक महिनाको समयसीमा दिएर स्वदेश फर्कन निर्देशन दिइएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार फिर्ता बोलाइनेहरूमा भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मा, अस्ट्रेलियाका लागि चित्रलेखा यादव, डेनमार्कका लागि सुम्निमा तुलाधर, श्रीलंकाका लागि पूर्णबहादुर नेपाली, दक्षिण कोरियाका लागि शिवमाया तुम्बाहाम्फे र दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठ रहेका छन् । मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलले आइतबारको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार ती राजदूतहरूलाई सोमबार पत्राचार गरिसकिएको पुष्टि गर्नुभयो ।

यो कदमसँगै ओली सरकारको पालामा राजनीतिक नियुक्ति पाएका १७ राजदूतमध्ये बाँकी रहेका सबै ६ जनाको कार्यकाल बीचमै टुङ्गिएको छ । यसअघि नै सुशीला कार्की नेतृत्वको सरकारले ११ देशका राजदूतहरूलाई फिर्ता बोलाइसकेको थियो । पछिल्लो राजनीतिक समीकरण र सरकारको कार्यशैली अनुरूप कुटनीतिक सन्तुलन मिलाउन वर्तमान बालेन शाह नेतृत्वको सरकारले यो कठोर निर्णय लिएको देखिन्छ ।

परराष्ट्र मन्त्रालयले दिएको एक महिनाको अवधिभित्र राजदूतहरूले सम्बन्धित मुलुकबाट विदाई भेटघाट सकाएर काठमाडौँस्थित मन्त्रालयमा हाजिर हुनुपर्नेछ। रिक्त रहेका यी महत्त्वपूर्ण नियोगहरूमा अब नयाँ राजदूत नियुक्तिको प्रक्रिया कहिले सुरु हुन्छ भन्ने विषयमा भने सरकारले स्पष्ट पारिसकेको छैन। राजदूतहरूको यो सामूहिक फिर्तीले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिक परिचालनमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार