Logo

२४ चैत, काठमाडौँ । मुलुकको अर्थतन्त्रमा देखिएको सुस्तताका बीच वाणिज्य बैंकहरूको नाफामा झिनो सुधार देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्मको वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले कुल ४३ अर्ब ८८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको नाफा ४३ अर्ब ४९ करोड रुपैयाँ रहेको थियो ।

तथ्याङ्क अनुसार समीक्षा अवधिमा सबैभन्दा बढी नाफा कमाउने सूचीमा नबिल बैंक पहिलो स्थानमा देखिएको छ । नबिलले फागुन मसान्तसम्म ६ अर्ब ७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यद्यपि, गत वर्षको तुलनामा यसको नाफामा संकुचन आएको देखिन्छ । सर्वाधिक नाफा कमाउने दोस्रो सूचीमा ग्लोबल आइएमई बैंक रहेको छ, जसले ४ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

बैंकहरूको समग्र नाफामा सुधार देखिए पनि व्यक्तिगत रूपमा भने अधिकांश बैंकहरूको अवस्था उत्साहजनक छैन । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये केवल ९ वटा बैंकले मात्र आफ्नो नाफा बढाउन सफल भएका छन् भने बाँकी ११ वटा बैंकको नाफामा गिरावट आएको छ । खराब कर्जा व्यवस्थापन र ब्याजदरमा आएको उतारचढावका कारण धेरैजसो बैंकहरूको नाफा प्रभावित भएको विश्लेषण गरिएको छ ।

फागुन मसान्तसम्मको यो तथ्याङ्कले बैंकिङ क्षेत्रमा नाफाको वृद्धि दर निकै सुस्त रहेको पुष्टि गर्दछ । बैंकहरूले आफ्नो सञ्चालन खर्च कटौती र गैर–ब्याज आम्दानीमा जोड दिएका कारण नाफामा सामान्य वृद्धि देखिए पनि ११ वटा बैंकको नाफा घट्नुले बैंकिङ क्षेत्रमा अझै केही चुनौतीहरू विद्यमान रहेको सङ्केत गरेको छ ।


सम्बन्धित समाचार