Logo

२४ चैत,काठमाडौं । डिसहोमको कर्मचारी भन्दै सर्वसाधारणलाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ नेत्रावती डबजोङ गाउँपालिका–५ घर भई हाल टोखा बस्दै आएकी २२ वर्षीया आरती सिंखडा, दोलखा भीमेश्वर नगरपालिका–८ घर भई हाल टोखा बस्ने २२ वर्षीय विष्णु कार्की र रामेछाप दोरम्बा शैलुङ गाउँपालिका–२ घर भई हाल टोखा बस्ने ४७ वर्षीय असल सिंह तामाङ रहेका छन्।

काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले आफूलाई काठमाडौंस्थित डिसहोमका कर्मचारी भएको परिचय दिँदै नियमित ग्राहकलाई फोनमार्फत सम्पर्क गर्ने गरेका थिए। “१ वर्षको रिचार्ज गर्दा ४ महिनाको निःशुल्क अफर” आएको भन्दै प्रलोभनमा पारेर रकम असुल्ने गरेको खुलेको छ।

पीडितहरूबाट उजुरी परेपछि अनुसन्धान अघि बढाउँदै गएको प्रहरी टोलीले उनीहरूलाई चैत २२ गते पक्राउ गरेको हो।

अनुसन्धानका क्रममा उनीहरूको साथबाट डिसहोम इन्टरनेट सेवासम्बन्धी नक्कली रसिद, छाप, कर्मचारी परिचयपत्र तथा विभिन्न व्यक्तिहरूको नाम, फोन नम्बर र हिसाबकिताब उल्लेख गरिएको कपी बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टका अनुसार मुख्य आरोपित आरती सिंखडा यसअघि डिसहोम मिडिया नेटवर्क अन्तर्गतको सब–डिलर एलेक्स इम्पेक्स तथा डिसहोम इन्टरनेट अनलाइन सेवामा कार्यरत थिइन्। सोही क्रममा उनले ग्राहकहरूको विवरण संकलन गरी ठगी कार्य सञ्चालन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सिंखडाले ग्राहकहरूलाई आफ्नो तथा श्रीमानको इसेवा, खल्ती र बैंक खातामा रकम जम्मा गर्न लगाउने गरेकी थिइन्। रकम बुझिसकेपछि नक्कली छापसहितको रसिद उपलब्ध गराउने गरेको समेत पाइएको छ।

प्रहरीका अनुसार उनले आफ्नो नम्बर प्रयोग गरी ८६ वटा डिसहोम अकाउन्ट सञ्चालन गरेको र हालसम्म ३६४ जना पीडितबाट २९ लाख रुपैयाँभन्दा बढी ठगी गरेको प्रारम्भिक तथ्य फेला परेको छ। हालसम्म ७ जना पीडितले औपचारिक उजुरी दिएका छन्।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार