Logo

२४ चैत, काठमाडौँ । मुलुकको नीति निर्माण गर्ने सर्वोच्च निकाय, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदमा डा.गुणाकर भट्ट नियुक्त हुनुभएको छ ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको उक्त महत्त्वपूर्ण पदमा डा. भट्टलाई जिम्मेवारी दिने निर्णय गरेको हो । संघीय मामिला तथा प्रशासनमन्त्री प्रतिभा रावलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै डा. भट्टको नियुक्तिको पुष्टि गर्नुभयो ।

लामो समयदेखि नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकका रूपमा अर्थतन्त्रका विविध पक्षमा दख्खल राख्दै आउनुभएका डा. भट्ट अब देशको विकास योजना र रणनीतिक खाका कोर्ने नेतृत्वदायी भूमिकामा देखिनुहुनेछ । केन्द्रीय बैंकको प्रवक्ताको रूपमा समेत कुशलतापूर्वक जिम्मेवारी निभाउनुभएका उहाँको आगमनले योजना आयोगको कार्यसम्पादनमा थप व्यावसायिकता र गतिशीलता आउने अपेक्षा गरिएको छ ।

विशेषगरी आर्थिक क्षेत्रमा गहिरो अध्ययन र अनुभव भएका डा. भट्टले अब सरकारका विकास प्राथमिकताहरूलाई परिभाषित गर्ने र पन्ध्रौँरसोह्रौँ पञ्चवर्षीय योजनाका लक्ष्यहरू प्राप्त गर्न नीतिगत नेतृत्व प्रदान गर्नुहुनेछ ।

अर्थतन्त्रमा देखिएका वर्तमान चुनौतीहरूलाई चिर्दै दिगो विकासको बाटोमा मुलुकलाई अघि बढाउन उहाँको विज्ञता महत्त्वपूर्ण हुने विश्वास लिइएको छ । नवनियुक्त उपाध्यक्षले छिट्टै पद तथा गोपनीयताको शपथ लिएर आफ्नो कार्यभार सम्हाल्नुहुनेछ ।


सम्बन्धित समाचार
भर्खरै