२४ चैत, काठमाडौं । ललितपुरको थसिखेलमा मंगलबार मध्याह्न भएको विभत्स सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
सातदोबाटोबाट एकान्तकुनातर्फ जाँदै गरेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाले ज्यान गुमाएका हुन् ।
प्रहरीका अनुसार मधेस प्रदेश ०३–००१ ख ८०६८ नम्बरको ट्रकले सोही दिशामा गुडिरहेको बागमती प्रदेश ९५४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सुनसरी घर भई हाल सानेपा बस्ने ६५ वर्षीय बिदुर गुरुङ र पछाडि सवार ८४ वर्षीया धनमाया गुरुङलाई तत्काल उपचारका लागि अल्का अस्पताल पुर्याइएको थियो । तर, अस्पताल पुर्यालगत्तै दिउँसो १स्१० बजे चिकित्सकहरूले उनीहरूलाई मृत घोषणा गरेका थिए ।
घटनालगत्तै प्रहरीले ट्रक चालक बारा, जितपुर सिमराका ३३ वर्षीय विनोद खा थारुलाई नियन्त्रणमा लिएको छ । हाल उनलाई जिल्ला प्रहरी परिसर जावलाखेलमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ भने दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरी वृत्त सातदोबाटोको नियन्त्रणमा रहेको छ । व्यस्त सडकखण्डमा भएको यस दुर्घटनाले स्थानीय क्षेत्रमा केही समय आवागमन समेत प्रभावित भएको थियो ।

















