२४ चैत, काठमाडौं । राष्ट्रिय सभाका विभिन्न विषयगत समितिहरूले नयाँ नेतृत्व पाएका छन् ।
प्रमुख राजनीतिक दलहरूबीच भएको शक्ति बाँडफाँड र भागबण्डाको सहमतिअनुसार मंगलबार चारवटै संसदीय समितिमा सभापतिहरू निर्विरोध चयन भएका हुन् । सङ्घीय संसद् सचिवालयले तोकेको मनोनयनको समयभित्र प्रत्येक समितिमा एक-एक जनाको मात्र उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।
दलहरूबीच भएको समझदारीअनुसार नेपाली कांग्रेसले दुई तथा नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी (जसपा) नेपालले एक-एक समितिको नेतृत्व सम्हाल्ने मौका पाएका छन् । यसअघि नै नेकपा एमालेको तर्फबाट सांसद लीला भण्डारी राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भई पदभार ग्रहण गरिसक्नुभएको छ । समितितर्फ कांग्रेसका तर्फबाट विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समितिमा कृष्णबहादुर रोकाय निर्विरोध चयन हुनुभएको छ ।
त्यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा जसपा नेपालकी सांसद पूजा चौधरी र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा नेपाली कम्युनिस्ट पार्टीकी सांसद जयन्तीदेवी राई निर्वाचित हुनुभएको छ ।
राष्ट्रिय सभामा रहेका दलहरूको शक्ति सन्तुलन मिलाउन गरिएको यो भागबण्डाले संसदीय प्रक्रियालाई सहमतिका आधारमा अघि बढाउन सहयोग पुग्ने देखिएको छ । हाल सभामा कांग्रेसका २४, नेपाली कम्युनिस्ट पार्टीका १७ र एमालेका १० सांसद रहेका छन् ।

















