२५ चैत, वीरगञ्ज । नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले बारा र पर्सा जिल्लाका हजारौँ किसानको मुख्य आधार रहेको गण्डक नहरमा थुप्रिएको बालुवा, माटो तथा झारपात हटाउने कार्यलाई तीव्र गतिमा अघि बढाएको छ । चालु आर्थिक वर्षमा कार्यालयले मुख्य नहरअन्तर्गत पर्सामा ६ किलोमिटर र बारामा ५ किलोमिटर खण्डमा सरसफाइ तथा मर्मतसम्भारको काम सुरु गरेको हो ।
लामो समयदेखि नहरमा माटोसहितको गेग्र्यान (थिग्रेनी) थुप्रिँदै जाँदा नहरको आकार खुम्चिनुका साथै पानीको प्रवाहमा समेत समस्या आएपछि कार्यालयले आफ्नै उपकरण र जनशक्ति परिचालन गरेर सफाइ थालेको कार्यालय प्रमुख मनोजप्रसाद पटेलले जानकारी दिए ।
नहर सफाइ अभियानमा मुख्य चुनौतीका रूपमा स्थानीय तहमा भइरहेको अतिक्रमण देखिएको छ । नहर किनारको जग्गामा स्थानीयले घरटहरा, माछापोखरी र अन्य भौतिक संरचना निर्माण गर्दा नहरबाट निकालिएको माटो र झारपात व्यवस्थापन गर्न ठाउँको अभाव भएको छ । प्रमुख पटेलका अनुसार करिब २५ देखि ३० स्थानमा नहरको जग्गा अतिक्रमण भएको पाइएको छ। “अतिक्रमणका कारण सरसफाइपछि निस्कने फोहोर व्यवस्थापन गर्न निकै कठिनाइ भइरहेको छ,” उनले भने, “यसको समाधानका लागि हामीले स्थानीय प्रशासनसँग समन्वय गरिरहेका छौँ।”
मुख्य नहरका अतिरिक्त शाखा नहरतर्फको ७५ किलोमिटर खण्ड सफाइका लागि कार्यालयले पाँच खण्डमा विभाजन गरी ठेक्का प्रक्रिया अघि बढाएको छ। प्रत्येक १५ किलोमिटरको खण्डलाई करिब ४५ लाख रुपैयाँमा ठेक्का स्वीकृत गरी काम अघि बढाइएको हो । ५० वर्ष पुरानो संरचना भएकाले गण्डक नहरलाई नियमित मर्मतसम्भारको आवश्यकता रहेको प्राविधिकहरूको भनाइ छ ।
सन् १९५६ डिसेम्बर ४ मा नेपाल र भारतबीच भएको गण्डक सिँचाइ तथा जलविद्युत् आयोजना सम्बन्धी सम्झौताअनुसार भारत सरकारले नारायणी नदीमा ब्यारेज निर्माण गरिदिएको थियो । यस नहर प्रणालीमार्फत हाल नेपालको करिब २८ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुग्दै आएको छ । समयमै नहरको सरसफाइ र मर्मत हुँदा आगामी सिजनमा किसानले पर्याप्त पानी पाउने विश्वास गरिएको छ ।

















