२५ चैत, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज नेपालस्थित विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्दै गर्दैछन् । विगतमा प्रधानमन्त्री नियुक्त भएलगत्तै राजदूतहरूसँग पालैपालो एक्लाएक्लै भेट्ने परम्परा रहेकामा प्रधानमन्त्री शाहले त्यसलाई तोड्दै सामूहिक संवादको नयाँ अभ्यास सुरु गर्न लागेका हुन् ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहका अनुसार यो सामूहिक संवादले नेपालको कूटनीतिक मर्यादा र अभ्यासमा एउटा नयाँ मापदण्ड (बेन्चमार्क) तय गर्नेछ। “विदेशी प्रतिनिधिहरूसँगको भेटलाई थप मर्यादित र प्रभावकारी बनाउन यो कदम चालिएको हो,” उनले भने ।
भेटवार्ता आज दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने तय भएको छ । सामूहिक भेटघाटमा परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्र सचिव अमृतबहादुर राईका साथै प्रधानमन्त्री कार्यालयका वरिष्ठ अधिकारीहरूको समेत सहभागिता रहनेछ ।
यसअघि नयाँ सरकार गठन हुनासाथ विदेशी राजदूतहरूले प्रधानमन्त्रीलाई भेट्न समय लिने र एक्लाएक्लै भेट्ने होडबाजी चल्ने गरेको थियो । प्रधानमन्त्री शाहको यो नयाँ शैलीलाई परराष्ट्र मामिलाका जानकारहरूले कूटनीतिक सन्तुलन र राष्ट्रिय स्वाभिमान कायम राख्ने प्रयासका रूपमा अर्थ्याएका छन् । भेटमा नेपालको द्विपक्षीय हित, विकास साझेदारी र समसामयिक अन्तर्राष्ट्रिय विषयमा सामूहिक छलफल हुने बुझिएको छ ।

















