Logo

२५ चैत, काठमाडौं । अमेरिका र इरानबिच दुई हप्ते युद्धविरामको नाटकीय सहमति भएसँगै त्यसको प्रत्यक्ष पराकम्प नेपाली सुनचाँदी बजारमा ठुलो वृद्धिका रूपमा देखिएको छ ।

अन्तर्राष्ट्रिय राजनीतिमा आएको यो नयाँ मोडले लगानीकर्ताहरूलाई त्रसित बनाउनुको सट्टा सुरक्षित लगानीको खोजीमा सुनतर्फ मोडिने वातावरण सिर्जना गरिदिएको छ । जसका कारण नेपाली बजारमा छापावाल सुनको मूल्य एकै दिन तोलामा ७ हजार २०० रुपैयाँले महँगिएर २ लाख ९९ हजार रुपैयाँको ऐतिहासिक उचाइमा पुगेको छ । अघिल्लो दिन २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको यो छलाङले आम उपभोक्ता र व्यवसायी दुवैलाई चकित तुल्याएको छ ।

सुनको यो वृद्धिसँगै चाँदीको बजारमा पनि उस्तै किसिमको हलचल पैदा भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको भाउ प्रतितोला ८९३ रुपैयाँले बढेर ५ हजार २५ रुपैयाँ कायम भएको छ। इरानमाथिको सम्भावित आक्रमण तत्कालका लागि टरेको खबर बाहिरिएपछि विश्वभरका ठुला लगानीकर्ताहरूले सुनलाई सबैभन्दा भरपर्दो सम्पत्तिका रूपमा रोज्दा अन्तर्राष्ट्रिय बजारमा यसको माग ह्वात्तै बढेको हो । खास गरी सुरक्षित लगानी तर्फको यो आकर्षणले स्पट गोल्डको मूल्य प्रतिऔँस ४,८१२.४९ अमेरिकी डलर पुर्‍याएको छ, जुन गत मार्च १९ पछिकै उच्च स्तर हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य २.३ प्रतिशतदेखि ३ प्रतिशतसम्मले वृद्धि हुनुको सीधा असर नेपालको स्थानीय बजारमा परेको हो । युद्धविरामको खबरले भूराजनीतिक अस्थिरता तत्कालका लागि शान्त भए पनि भविष्यको अनिश्चिततालाई मध्यनजर गर्दै लगानीकर्ताहरू सुनमा ओइरिएका हुन् ।

यसले गर्दा आगामी दिनमा पनि सुनको मूल्यमा थप उत्तारचढाव आउन सक्ने देखिन्छ । काठमाडौँ लगायत देशभरका सुन पसलहरूमा मूल्य वृद्धिको यो नयाँ रेकर्डले कारोबारमा नयाँ तरंग पैदा गरिदिएको छ ।


सम्बन्धित समाचार