Logo

२५ चैत, काठमाडौं । प्रतिनिधिसभा सञ्चालन नियमावलीलाई समयानुकूल परिमार्जन गर्न गठित मस्यौदा समितिले आफ्नो कार्यलाई तीव्रता दिँदै बिहीबारदेखि संशोधनका बुँदाहरूमा औपचारिक छलफल सुरु गर्ने भएको छ ।

सिंहदरबारमा बुधबार बसेको १५ सदस्यीय समितिको बैठकले नयाँ नियमावली तर्जुमाका लागि आवश्यक संशोधनका विषयमा नियमित संवाद अघि बढाउने सहमति गरेको हो । समितिका सभापति गणेश पराजुलीको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा नियमावलीको प्रारम्भिक मस्यौदाका रूपमा परिच्छेद १ देखि ८ सम्मका प्रावधानहरू वाचन गरी सदस्यहरूलाई जानकारी गराइएको थियो ।

बैठकमा सहभागी नेपाली कांग्रेसका सांसद निश्कल राईका अनुसार सभापति पराजुलीले प्रस्तुत गरिएका परिच्छेदहरूमा केही सुधार वा परिवर्तन आवश्यक भएमा भोलिको बैठकमा लिखित सुझावसहित उपस्थित हुन सदस्यहरूलाई आग्रह गर्नुभएको छ । यस समितिमा निश्कल राईसहित ओजश्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुस्बु ओली, गजला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, बलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादव र सुलभ खरेल सदस्यका रूपमा रहेका छन् ।

संसदीय अभ्यासलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले गठन गरिएको यो समितिले नियमावलीका प्रावधानहरूमा दफावार छलफल गरी छिट्टै अन्तिम रूप दिने लक्ष्य राखेको छ । बिहीबारदेखि सुरु हुने नियमित छलफलले नियमावलीमा रहेका जटिलताहरू फुकाउँदै प्रतिनिधिसभाको कार्यसञ्चालनलाई थप पारदर्शी र उत्तरदायी बनाउन मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ । मस्यौदा समितिले तयार पारेको प्रतिवेदनलाई अन्तिम अनुमोदनका लागि प्रतिनिधिसभाको पूर्ण बैठकमा पेस गरिनेछ ।


सम्बन्धित समाचार
भर्खरै