२५ चैत,वीरगञ्ज । बारामा अनधिकृत रूपमा विद्युत चोरी गरी सिँचाइमा प्रयोग गरिएका सात थान विद्युत मोटर नियन्त्रणमा लिइएको छ। नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्र र सुरक्षाकर्मीको संयुक्त टोलीले बारा जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका ती मोटरहरू मंगलवार नियन्त्रणमा लिएको हो।
कलैया वितरण केन्द्रका सुपरभाइजर दीपेन्द्र कुमार साहका अनुसार १ एच.पी. का ५ थान सिँचाइ मोटर, २ एच.पी. का २ थान मोटर, १ पङ्खा, १ स्पिकर र १ फर्निचर मेसिन बरामद गरिएको छ।
साहका अनुसार मोटरका धनी सम्पर्कमा आएमा जरिवाना तिरेर फिर्ता गरिने व्यवस्था छ, अन्यथा ती सामग्री जफत गरिने छ। उनले विद्युत चुहावट नियन्त्रण अभियानलाई थप कडाइका साथ अघि बढाइने बताएका छन्।

















