Logo

२५ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले शेयर कारोबार सञ्चालनको तालिकामा व्यापक हेरफेर गर्दै नयाँ कार्यतालिका सार्वजनिक गरेको छ ।

मन्त्रिपरिषद्को गत चैत २२ गतेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने र कार्यालय समय परिमार्जन गर्ने निर्णय गरेसँगै नेप्सेले पनि सोही अनुरूप आफ्नो कारोबार दिनहरूलाई पुनर्गठन गरेको हो । सरकारले शनिबार र आइतबार दुई दिन बिदा दिने नीति लिएपछि अब लगानीकर्ताहरूले हप्ताको पहिलो दिनका रूपमा सोमबार मात्रै बजारमा प्रवेश पाउनेछन् ।

नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि अब शेयर बजार सोमबारदेखि शुक्रबारसम्म साविककै समयमा सञ्चालन हुनेछ । यसअघि आइतबारदेखि बिहीबारसम्म कारोबार हुँदै आएकोमा अब आइतबार सार्वजनिक बिदा कायम रहने भएकाले सो दिन बजार पूर्ण रूपमा बन्द रहने नेप्सेले जनाएको छ । नेप्से सञ्चालक समितिको चैत २२ गतेकै बैठकले मन्त्रिपरिषद्को निर्णयलाई आत्मसात गर्दै शुक्रवारलाई पनि पूर्ण कारोबार दिनको रूपमा समावेश गर्ने निर्णय गरेको हो ।

सरकारको यो निर्णयले वित्तीय बजार र कार्यालय समयमा ल्याएको परिवर्तनसँगै शेयर बजारमा पनि साताको कार्यदिनमा ठूलो बदलाव आएको छ । आइतबारको बिदाले लगानीकर्ताहरूलाई नयाँ रणनीतिका लागि थप समय दिए पनि साताको अन्तिम दिन अर्थात् शुक्रबारको कारोबारले बजारमा नयाँ रौनक र तरलता थप्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै