२५ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न राष्ट्रका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सिंहदरबारमा सामूहिक संवाद गर्दै आफ्नो सरकारको कूटनीतिक प्राथमिकता र भावी कार्यदिशाबारे स्पष्ट पार्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित उक्त महत्त्वपूर्ण भेटघाटमा छिमेकी मुलुकहरू भारत र चीनसहित अमेरिका, बेलायत, जापान, जर्मनी र संयुक्त राष्ट्र सङ्घ जस्ता प्रमुख विकास साझेदार राष्ट्रका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । नवनियुक्त प्रधानमन्त्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै कूटनीतिज्ञहरूले नेपालको विकास प्रक्रिया र नेपाली जनताको हितमा सरकारले चाल्ने कदमहरूमा पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालको परराष्ट्र नीतिलाई सन्तुलित र व्यावहारिक रूपमा अगाडि बढाउने संकल्प दोहोर्याउँदै मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई पारस्परिक सम्मान र साझा समृद्धिका आधारमा अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले विश्व शान्तिलाई साझा प्राथमिकताका रूपमा व्याख्या गर्दै विशेष गरी वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको सुरक्षा र हितलाई आफ्नो सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो। प्रधानमन्त्रीले आफ्नो कार्यकालमा सुशासनको प्रत्याभूति, तीव्र आर्थिक विकास र सर्वसाधारणको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउन सरकार दृढ संकल्पित रहेको बताउँदै अन्तर्राष्ट्रिय समुदायको रचनात्मक सहयोगको अपेक्षा गर्नुभयो ।
कूटनीतिक सम्बन्धलाई नयाँ गति दिने उद्देश्यले आयोजित यस भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह, मुख्यसचिव र परराष्ट्र सचिव लगायत उच्च सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो ।
सहभागी राजदूतहरूले नेपालको बदलिँदो राजनीतिक परिदृश्य र नयाँ सरकारका प्राथमिकताका विषयमा चासो राख्दै आगामी दिनमा सहकार्यका क्षेत्रहरूलाई थप फराकिलो बनाउने आश्वासन दिएका छन् ।
यस संवादले नेपालको नयाँ नेतृत्व र विश्व समुदायबीचको कूटनीतिक विश्वासलाई थप मजबुत बनाउनुका साथै विकास साझेदारहरूसँगको सम्बन्धमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

















