२५ चैत, चितवन। माडी नगरपालिका भित्रका किसान लाई उन्नत जातका पाडा वितरण कार्यक्रम सम्पन्न भएको छ। मिल्कवेक कार्यक्रम अन्तर्गत ८० प्रतिशत अनुदानमा सम्पन्न यो कार्यक्रममा छ वटा पाडा मुर्रा जातका शुद्ध नस्लका थिए ।
कार्यक्रमको आयोजना चितवन जिल्ला दुग्ध उत्पादन सहकारी सङ्घ लिमिटेडले गरेको थियो भने समन्वय भैरवी दुग्ध उत्पादन सहकारी संस्था लिमिटेड र कालिका कृषि सहकारी संस्था लिमिटेडले गरेका थिए। आर्थिक सहयोग माडी नगरपालिका र हेफर इन्टरनेसनलले गरेका थिए।
अनुदानमा पाडा पाउने किसानहरूमा माडी–१ वनकट्टाका जीवनप्रसाद तिम्सिना, माडी–२ भैरवपुरका दाताराम पौडेल, माडी–९ जेठी बगइका गङ्गाबहादुर अधिकारी, माडी–७ गौरीनगरका मोहनबहादुर आचार्य, माडी–६ राम राज्यपुरका ज्ञानप्रसाद सुवेदी, र माडी–६ बसन्तपुरका मोहन शाह कलवार रहेका छन्।
कार्यक्रम चितवन जिल्ला दुग्ध उत्पादन सहकारी सङ्घ लिमिटेडका सचिव कल्याण अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतो रहनुभएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री जगतप्रसाद भुसाल, पशुपंक्षी शाखा प्रमुख डाक्टर सन्तोष क्षेत्री, कार्यपालिका सदस्य कमल भुजेल, वडा नम्बर ६ का वडा अध्यक्ष दिपेन्द्रराज पौडेल लगायतको सहभागिता रहेको थियो। साथै माडी क्षेत्रमा पशुपंक्षी पालन गर्ने किसानहरू पनि सहभागी भएका थिए।
कार्यक्रममा मेयर महतोले मन्तव्य राख्दै भन्नुभयो “उन्नत जातका पाडाले माडी क्षेत्रमा दुध उत्पादन बढाउन ठूलो सहयोग पुर्याउनेछ। यसले किसानहरूलाई आधुनिक पशुपालन प्रविधि अपनाउन प्रेरित गर्ने मात्र होइन, आयआर्जन सुधार्दै स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउनेछ।”
कार्यक्रममा सहभागी किसानहरूले पनि नयाँ पाडा पाएको अनुभव र भविष्यमा उत्पादन बढाउने योजनाबारे उत्साह व्यक्त गरे। यस प्रकारको अभ्यासले माडी क्षेत्रका पशुपालन किसानहरूमा आधुनिक प्रविधि अपनाउने र दुध उत्पादन वृद्धि गर्ने उत्साह थप्ने विश्वास व्यक्त गरिएको छ।




















