Logo

२६ चैत, काठमाडौं । विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर निकै कमजोर रहने प्रक्षेपण गरेको छ ।

बुधबार सार्वजनिक गरिएको ‘आर्थिक वृद्धि दबाबमा’ आन्तरिक र विश्वव्यापी आघातहरूको सामना’ नामक प्रतिवेदनअनुसार यस वर्ष नेपालको आर्थिक विस्तार २।३ प्रतिशतमा खुम्चिने देखिएको हो ।

अघिल्लो आर्थिक वर्ष ४.६ प्रतिशतको वृद्धिदर हासिल गरेको नेपालका लागि यो प्रक्षेपण निराशाजनक मानिएको छ। विशेषगरी मध्यपूर्वमा जारी युद्धका कारण रेमिट्यान्स र वैदेशिक रोजगारीमा परेको प्रभाव तथा सन् २०२५ को सेप्टेम्बर (भदौ) मा भएको आन्तरिक राजनीतिक अशान्ति र ‘जेन–जी’ आन्दोलनले सिर्जना गरेको अवरोधलाई अर्थतन्त्र सुस्त हुनुको मुख्य कारकका रूपमा औँल्याइएको छ ।

विश्व बैंकको विश्लेषणअनुसार बाह्य र आन्तरिक दुवै कारणले नेपालको सेवा र कृषि क्षेत्र प्रत्यक्ष मारमा परेका छन् । पश्चिम एसियाको द्वन्द्व लम्बिँदा हवाई इन्धनको मूल्य वृद्धि भई पर्यटकीय गतिविधि घट्ने जोखिम देखिएको छ भने आन्तरिक रूपमा कृषि उत्पादनमा आएको ह्रासले माग र आपूर्ति दुवै पक्षलाई कमजोर बनाएको छ ।

माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका निर्देशक डेभिड सिसलेनले नेपालको आर्थिक भविष्य अब निजी क्षेत्रको सक्रियता र व्यावसायिक वातावरणमा आउने सुधारमा निर्भर रहने बताउनुभएको छ । उहाँले रोजगारी सिर्जना र दिगो विकासका लागि सरकारले पूर्वाधार निर्माण र निजी लगानीकर्ताको आत्मविश्वास जगाउने कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ ।

यद्यपि, दीर्घकालीन रूपमा भने नेपाली अर्थतन्त्रमा सुधारका संकेतहरू देखिने अपेक्षा गरिएको छ । जलविद्युत क्षेत्रको निरन्तर विस्तार, नयाँ सरकारको गठनसँगै सुरु हुने संरचनात्मक सुधार र सन् २०२७ मा हुने उपप्रादेशिक निर्वाचनका कारण बढ्ने आन्तरिक खपतले अर्थतन्त्रलाई पुनः गति दिने बैंकको विश्वास छ ।

यी सकारात्मक पहलकदमीहरूका कारण आगामी आर्थिक वर्ष २०८३/८४ सम्ममा नेपालको औसत आर्थिक वृद्धिदर सुधारिएर ४ दशमलव ४ प्रतिशत पुग्न सक्ने प्रक्षेपण प्रतिवेदनमा गरिएको छ । तत्कालको संकट टार्न र स्थिर वृद्धिको बाटो समात्न नीतिगत स्पष्टता र लगानीमैत्री वातावरण नै नेपालका लागि मुख्य चुनौती देखिएको छ ।


सम्बन्धित समाचार
भर्खरै