२६ चैत, काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख निर्वाचनका लागि राजनीतिक सरगर्मी बढिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो उम्मेदवार तय गरेको छ ।
बिहीबार बसेको राप्रपा संसदीय दलको बैठकले सांसद सरस्वती लामालाई उपसभामुख पदको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको हो । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको समेत उपस्थितिमा भएको उक्त बैठकले लामालाई चुनावी मैदानमा उतार्ने सर्वसम्मत निर्णय गर्दै विपक्षी मोर्चामा आफ्नो स्थान सुरक्षित गर्ने प्रयास गरेको छ ।
संसद् सचिवालयले बिहीबार दिउँसो २ बजेसम्मका लागि मनोनयनको समय तोकेको सन्दर्भमा राप्रपाको यो निर्णय बाहिर आएको हो । सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक प्रावधानका बीच राप्रपाले लामालाई अघि सारेर संसद् भित्रको शक्ति सन्तुलनमा आफ्नो प्रभाव देखाउन खोजेको छ ।
लामालाई उम्मेदवार बनाउने निर्णयसँगै राप्रपाले अब अन्य विपक्षी दलहरूसँग पनि सहयोग र समर्थनका लागि संवाद अघि बढाउने देखिएको छ । शुक्रबार हुने निर्वाचनमा लामाको उम्मेदवारीले प्रतिस्पर्धालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ ।

















