Logo

२६ चैत, काठमाडौं । लामो समयदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को पर्खाइमा रहेका लाखौँ सेवाग्राहीका लागि खुसीको खबर छ ।

सुरक्षण मुद्रण केन्द्रले लाइसेन्स छपाइ कार्यलाई असाधारण गति दिँदै अहिले दैनिक करिब ४० हजारको संख्यामा कार्डहरू उत्पादन गरिरहेको छ । केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार हाल थाँती रहेका करिब २९ लाख लाइसेन्सलाई आगामी २०८३ साल असार मसान्तभित्र छापिसक्ने महत्वाकांक्षी लक्ष्यका साथ काम भइरहेको छ ।

यसै योजनाअन्तर्गत पहिलो चरणमा आगामी वैशाख १२ गतेभित्रै १२ लाख लाइसेन्स छपाइ सम्पन्न गर्ने गरी मेसिनहरू २४सै घण्टा सञ्चालनमा ल्याइएको छ भने बाँकी १७ लाख कार्डको प्रक्रियालाई पनि उत्तिकै तीव्रता दिइएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले लाइसेन्स छपाइमा कुनै पनि प्राविधिक वा प्रशासनिक अवरोध आउन नदिन कडा निर्देशन दिएपछि यसले गति लिएको हो । मन्त्रालयले अघि सारेको १० बुँदे सुधारात्मक कार्ययोजना र मन्त्रिपरिषद्को चैत १३ गतेको निर्णयअनुसार सार्वजनिक सेवालाई छरितो र प्रविधिमैत्री बनाउने सरकारी संकल्पलाई यो कदमले सार्थक तुल्याएको छ। दशकौँदेखि रसिदकै भरमा सवारी चलाउनुपर्ने बाध्यता झेल्दै आएका नागरिकलाई छिटो सेवा दिन सरकारले नतिजामुखी शासकीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाएको छ।

सेवाग्राहीको सहजताका लागि यातायात व्यवस्था विभागले सूचना प्रविधिको प्रयोगलाई पनि बढावा दिएको छ। अब विभागको आधिकारिक वेबसाइटमार्फत दैनिक रूपमा छापिएका र वितरणका लागि पठाइएका लाइसेन्सको विवरण सार्वजनिक गर्न थालिएको छ, जसले गर्दा नागरिकले आफ्नो कार्डको अवस्थाबारे घरमै बसेर जानकारी पाउन सक्नेछन् ।

साथै, छापिएका लाइसेन्सहरू हुलाक सेवामार्फत देशभरका यातायात कार्यालयहरूमा तत्कालै पुर्‍याउने व्यवस्था मिलाइएकाले अब लाइसेन्स वितरण प्रक्रिया निकै व्यवस्थित र पारदर्शी हुने देखिएको छ । यही रफ्तार कायम रहेमा लाइसेन्सको ुब्याकलॉगु समस्या निकट भविष्यमै सधैँका लागि समाधान हुने विश्वास गरिएको छ ।


सम्बन्धित समाचार