Logo

२६ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम सम्झौता पूर्ण रूपमा कार्यान्वयन नभए पहिलेभन्दा अझ भीषण र शक्तिशाली आक्रमण गर्ने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल ट्रुथ सोसलु मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ट्रम्पले जबसम्म वास्तविक सम्झौताले पूर्णता पाउँदैन, तबसम्म अमेरिकी सेना, जहाज र विमानहरू इरानको सीमा आसपासमै तैनाथ रहने स्पष्ट पारेका छन् ।

उनले इरानलाई आणविक हतियार बनाउन नदिने र होर्मुज स्ट्रेटलाई खुला एवं सुरक्षित राख्ने पुरानो सहमतिलाई स्मरण गराउँदै अमेरिकी सेना अर्को विजयका लागि तयारी अवस्थामा रहेको र ‘अमेरिका इज ब्याक’ भन्दै आफ्नो दृढता व्यक्त गरेका छन् ।

यो तनावको मुख्य जड युद्धविरामको दायरा लेबननमा पनि लागू हुने कि नहुने भन्ने विषयमा केन्द्रित देखिएको छ । युद्धविराम घोषणा भएको भोलिपल्टै इजरायलले लेबननमा भीषण हवाई आक्रमण गरी २५४ जनाको ज्यान लिएपछि इरान र अमेरिकाबीचको विवाद सतहमा आएको हो । इरानले अमेरिकामाथि १० बुँदे प्रस्तावका तीनवटा महत्त्वपूर्ण सर्तहरू उल्लंघन गरेको आरोप लगाउँदै अब युद्धविरामको कुनै अर्थ नभएको दाबी गरेको छ ।

यता, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भने युद्धविराम सम्झौतामा लेबननको विषय कतै पनि उल्लेख नभएको जिकिर गर्दै इजरायली कदमको बचाउ गरेका छन् ।

अहिले मध्यपूर्वको स्थिति निकै तरल र विस्फोटक मोडमा पुगेको छ । एकातिर इरानले सम्झौता भंग भएको घोषणा गर्ने तयारी गरिरहेको छ भने अर्कोतिर ट्रम्पले सम्झौता लागू नभए अझ आक्रामक ढंगले गोलाबारी सुरु गर्ने धम्की दिइरहेका छन् ।

अमेरिकी प्रशासनले आफ्नो सैन्य शक्तिलाई इरानको वरिपरि केन्द्रित राख्दै दबाब बढाउने रणनीति लिएको छ । यो कूटनीतिक र सैन्य खिचातानीले गर्दा हालै गरिएको युद्धविराम प्रयास धरापमा पर्नुका साथै यस क्षेत्रमा फेरि ठूलो युद्ध भड्किने जोखिम बढेको छ ।


सम्बन्धित समाचार