Logo

२६ चैत,वीरगञ्ज । समुदायमा देखिन सक्ने अनपेक्षित जनस्वास्थ्य जोखिमलाई समयमै पहिचान गरी नियन्त्रण गर्ने उद्देश्यले वीरगञ्ज महानगरपालिकामा समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखा अन्तर्गत जनस्वास्थ्य प्रवर्द्धन शाखाको आयोजनामा तथा PHRD नेपाल र युनिसेफको प्राविधिक तथा आर्थिक सहयोगमा वडा नं. ५ कुम्हालटोलस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा अनपेक्षित जनस्वास्थ्य घटना तथा रोगका लक्षण देखिँदा त्यसको समयमै सूचना प्रवाह गर्नु अत्यन्त महत्वपूर्ण हुनेमा जोड दिइयो। सहभागीहरूलाई आमनागरिक, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, सामाजिक अगुवा तथा जनप्रतिनिधिको सक्रिय भूमिका बिना यस्तो प्रणाली प्रभावकारी नहुने जानकारी गराइएको थियो।

सहभागीहरूलाई टोल तथा समुदायमा कुनै असामान्य स्वास्थ्य समस्या वा रोगका लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा फोन, एसएमएस वा प्रत्यक्ष रूपमा जानकारी गराउन आग्रह गरिएको थियो। साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित निःशुल्क हटलाइन सेवा ‘हेल्लो स्वास्थ्य १११५’ मा समेत सूचना दिन सकिने बताइएको छ।

कार्यक्रमका प्रशिक्षक राजिव चौधरी तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र कुम्हालटोल–५ का राजकुमार मण्डलले अनपेक्षित जनस्वास्थ्य घटना, समयमै सूचना दिनुको महत्व तथा खबर गर्नुपर्ने लक्षणका बारेमा विस्तृत जानकारी दिएका थिए।

उनीहरूले समुदाय स्तरमै रोगको प्रारम्भिक पहिचान र सूचना संकलनले महामारी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सबैको सक्रिय सहभागिताबाट मात्रै स्वास्थ्य सुरक्षालाई सुदृढ बनाउन सकिने बताएका छन्।


सम्बन्धित समाचार
भर्खरै